नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

अखिल क्रान्तिकारी ओखलढुङ्गाको अध्यक्षमा सुशान्त लामा

ओखलढुङ्गान्युज । भदौ १९, ओखलढुङ्गा । अखिल क्रान्तिकारीको ओखलढुङ्गा जिल्ला अध्यक्षमा सुशान्त लामा निर्वाचित भएका छन् । शनिबार सम्पन्न अखिल क्रान्तिकारीको आठौ जिल्ला सम्मेलनले सुसान्त लामाको नेतृत्वमा ५१ सदस्यीय जिल्लाको कमिटी घोषणा गरेको छ ।

लामाको नेतृत्वमा निर्वाचित भएका अन्य सदस्यहरुमा उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना रहेका छन् । निर्वाचित भएका उपाध्यक्षहरुमा शुरेश खड्का, अनुशा लुइटेल र सुमन घिमिरे रहेका छन् । त्यस्तै सचिवमा अविनाश कार्की, सहसचिवमा सुनिता परियार, बलराम गौतम, निरुता कटवाल तथा कोषाध्यक्षमा प्रतिमा लुइँटेल रहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकता पश्चात भातृ संगठनहरुको समेत एकता गर्दै संगठन विस्तारमा चुप बसेको थियो । तर माओवादी केन्द्र र एमाले बीचको एकता लाई अदालतले अवैध फैसला गरे पश्चात पुन: नेकपा एमाले र नेकपा माओवादी केन्द्र बनेको छ । अदालतको फैसलासँगै माओवादी केन्द्रले अहिले जिल्ला जिल्लामा आफ्ना संगठनहरु विस्तार गर्न थालेको छ ।

संगठन बिस्तारको क्रममा भातृ संगठनको पनि भेला सम्मेलनहरु तीव्रगतिमा गरिरहेको छ ।सोहीक्रममा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले ओखलढुङ्गामा आफ्नो आठौं जिल्ला सम्मेलन शनिबार भव्य कार्यक्रमका बीच सम्पन्न गरेको हो । 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पन्चा सिंहको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला अध्यक्ष एवं प्रदेश नम्बर १ का अर्थ समिति सभापति मोहनकुमार खड्का लगायतको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका बिचमा पनि सयौं विद्यार्थी सहभागी भएको जिल्ला अधिवेशनमा नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा निर्वाचित जनप्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।