नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा आगोले जलेर एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज । भदौ १५, ओखलढुङ्गा । आगोले जलेर जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ७ कि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ७ की ४० वर्षिया मिना कुमारी श्रेष्ठ रहेकी छन् ।

मृतक श्रेष्ठको शब घर भन्दा करीब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । प्रहरी प्रमुख काफ्लेका अनुसार घटनास्थल नजिकै अति प्रज्वलनशील पदार्थ डिजेलको बोत्तल र झोला फेला परेको छ । घटनास्थल नजिकै डिजेलको बट्टा भेटिएकोले महिलाले शरिरमा डिजेल खन्याएर आफैले आगो लगाई आत्मदाह गरेको हुनसक्ने अनुमान गरिएको छ । 

घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाएर शोमबार नै शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाएको छ । मृतक महिला केही समयअघि कोरोना संक्रमित भएर निको भएकी थिइन् । कोरोना संक्रमित भएर निको भएपनि मानसिक समस्या सृजना भएका कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।