नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

कांग्रेसको जिल्ला समिति बैठक बस्दै, होला त सहमती ?

ओखलढुङ्गान्युज । भदौ १५, ओखलढुङ्गा । नेपाली कांग्रेसको महाधिबेशनको मिति नजिकिदै गर्दा ओखलढुङ्गामा आज (मंगलबार) जिल्ला समितिको बैठक बस्दै छ । महाधिबेशन अगाडी जिल्लामा रहेका सबै तहहरुको अधिबेशन पनि सक्नुपर्ने भएकोले आज जिल्ला समितिको बैठक बस्न लागेको हो ।

अधिबेशन नजिकीदै गर्दा स्थानीय वडा तह देखी महाधिबेशन प्रतिनिधी सम्मका लागि ओखलढुङ्गावाट आकांक्षीहरु धेरै देखिएका छन् । सामाजिक सञ्जाल मार्फत नेताहरुले आफ्नो उम्मेदवारीको बारेमा धारणा सार्वजनिक गरिरहेका छन् । जसका कारण स्थानीय वडा तहको पदाधिकारीहरुका लागि नै निर्वाचन हुनसक्ने संकेत देखा परेको छ ।

यसै सन्दर्भमा ओखलढुङ्गामा जिल्ला सभापतिका लागि चारजना नेताहरुले आफ्नो दावी पेश गरेका छन् । हाल सम्म सभापति पदमा दावी गर्ने नेताहरुमा रुद्र प्रसाद अधिकारी, बालकृष्ण दाहाल, तेजेन्द्र खनाल र कुमार लुईटेलको नाम चर्चामा छ । शीर्षस्थ नेताहरुका बिच सभापति पदमा रस्साकस्सी हुने सम्भावना देखिएपछि सहमतीमा नेतृत्व चयनका लागि कांग्रेसले छलफल सुरुवात गरेको छ ।

आजको कांग्रेसको बैठकमा जिल्ला नेतत्वसँगै सबै स्थानीय तहका आकांक्षीहरुको बारेमा छलफल र सहमतीको प्रयास हुने सभापति प्रदिप सुनुवारले बताए । सहमतीको बारेमा छलफल भएपनि आजको बैठकको मुख्य एजेण्डा भनेको जिल्लाका अधिबेशनका लागि केन्द्रवाट मतदान अधिकृत आएको र स्थानीय तहहरुमा पनि मतदान अधिकृत छनौट गर्ने सम्बनधमा रहेको सभापति सुनुवारले बताए ।

वर्तमान सभापति सुनुवारले जिल्लामा दुईपटक कांग्रेसको नेतृत्व गरिसकेका छन् । सुनुवारको कार्यकाल सम्पन्न हुदै गर्दा अब आफ्नो दावी भनेको केन्द्रिय सदस्यमा रहेको बताएका छन् । जिल्लाका सबै तहहरुको अधिबेशनमा सहमतीका आधारमा नै नेतृत्व चयनका लागि पहल गरिने र सो हुन नसकेमा लोकतान्त्रिक विधि र पद्धती अनुसार नै पदाधिकारीहरुको चयन हुने पनि सभापति सुनुवारले बताए ।