नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

जनवादी गायक जेबी टुहुरेको निधन

ओखलढुङ्गान्युज । भदौ १०, काठमाण्डौं । निकै चर्चित जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । २००१ साल कात्तिक १५ गते सुनसरीको धरानमा जन्मिएका टुहुरेको उपचारको क्रममा नै विहिबार निधन भएको हो ।

भदौ १ गते दिउँसो काठमाण्डौंको कलंकीस्थित निजी निवासमा मष्तिष्क पक्षघात भएपछि टुहुरेको वयोधा अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । मधुमेह, फोक्सो र उच्च रक्तचापको समेत समस्या झेलिरहेका ७८ वर्षका टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार गरिएको थियो ।

टुहुरेको शबलाई नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा राखेर माओवादी केन्द्रका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । टुहुरेको पार्थिव शरीरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाए । पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिएपछि टुहुरेको शबलाई पशुपति आर्यघाटमा आज नै दाहसंस्कार गरिएको छ ।

स्वर्गीय टुहुरेले २०२४ सालदेखि गीत रेकर्ड गराउन थालेका थिए । २०३४ सलमा रेकर्ड गराएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर’ बोलको गीत चर्चित छ । टुहुरेले गीत संगीतका माध्यमबाट पञ्चायतविरुद्धको आन्दोलनमा जनचेतना जगाएका थिए ।

२०५२ देखि २०५९ सालसम्म राष्ट्रिय जनसाँस्कृतिक मञ्चको अध्यक्ष रहेका टुहुरे साँस्कृतिक संस्थानको अध्यक्ष भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी तत्कालिन एकीकृत नेकपा माओवादीको तर्फबाट संविधानसभा सदस्य भएका थिए । टुहुरेले २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । हाल टुहुरे नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार रहेका थिए ।