नेपाली समय Loading...२०८१ जेष्ठ ६ आईतवार

लगातार वर्षातका कारण ओखलढुङ्गाका सडकहरु अबरुद्ध

ओखलढुङ्गान्युज । साउन ३१, ओखलढुङ्गा । शनिवार बेलुकी देखी परेको अविरल वर्षातका कारण ओखलढुङ्गाका मुख्य राजमार्ग र अधिकांश स्थानीय सडकहरु अबरुद्ध बनेका छन् । वर्षातका कारण ठाउँठाउँमा पहिरो जादा सदरमुकाम सवारी प्रबेशमा अबरोध सृजना भएको छ ।

जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकाको भडारे खोलामा आएको भलका कारण काठमाण्डौंवाट ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ प्रबेश गर्ने तथा काठमाण्डौं जाने सवारी साधनहरु अबरुद्ध बनेका छन् । त्यस्तै सुनकोसी, मोलुङवाट ओखलढुङ्गा भित्रीने सवारी साधनहरुपनि सडकका ठाँउठाँउमा पहिरो खस्दा अबरुद्ध बनेको छ ।

यो समाचार तयार पार्दै गर्दा भडारे खोलाको अबरुद्ध सडक भने सडक डिभिजन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालयको टिमले सुचारु गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । मोलुङबाट ओखलढुङ्गा भित्रिने सडकखण्डको पहिरे खोलामा भने यो समाचार तयार गर्दै गर्दा सम्म बाटो सूचारु हुन सकेको छैन । बाटो अबरुद्ध भएको बारेमा ढिलो सूचना आएकोले बाटो खुलाउनका लागि अहिले प्रहरीको टीम परिचालन गरेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

यसैगरि लगातार वर्षातका कारण जिल्लाको लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका, सुनकोसी गाउँपालिका, चिशंखुगढी गाउँपालिकाका विभिन्न स्थानहरुमा माटोको ढिस्को खस्दा बाटाहरु अबरुद्ध भएको स्थानीले बताएका छन् ।