नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

साउनमा आएको हावाहुरीले किसानका लाखौका मकैमा क्षति

ओखलढुङ्गान्युज साउन २५, ओखलढुङ्गा गत शुक्रबार आएको हावाहुरीका कारण मोलुङ गाउँपालिकाका कृषकले लगाएको लाखौको मकैवालीमा क्षती पु¥याएको छ । हावाहरीका कारण मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीका कृषकहरुले लगाएको मकैवालीमा क्षति पु¥याएको हो ।

शुक्रबार आएको हावाहुरीका कारण कुन्तादेवीका अधिकांश कृषकहरुको मकैवाली सबै लडेको छ । कतिपय किसानहरुको मकैवाली पाक्न लागेको थियो भने कतिपयको भर्खरै घोगा लाग्न थालेको थियो । हावाहुरीका कारण मकै लडेपछि मकैवाली भित्र लगाईएको कोदोमा समेत क्षति पुगेको छ ।

कुन्तादेवीका कृषक देवनारायण धमलाले भने, ‘हुरी बतासका कारण भित्र्याउन लागेको मकै सबै लडेको छ । मकै काटेर भित्र्याउ भने पूरा पाकेको छैन । त्यसैराखौ भने त्यही भएको मकैपनि पानीले कुहिने, चरा मुसाले खाएर सकिने र कोदो पनि कुहिने भयो । हुरी बतासले मेरो १५ मुरी भन्दा बढी फल्ने मकै क्षती ग¥यो ।’ धमलाले भने, ‘यसपाली त जसोतसो टर्ला, तर अर्को वर्ष लगाउने मकैको विउ नहुने भयो ।’

त्यस्तै कुन्तादेवीका अर्का किसान तिल बहादुर कटवालको पनि मकैवाली सबै लडेको छ । कटवाललाई भने अब भोकमरी लाग्ने चिन्ताले सताएको छ । कटवालले भने, ‘आफ्नो त्यही ४÷५ रोपनी जग्गा थियो । त्यहाँ ८–१० मुरी मकै फल्थ्यो । अलिक पछि रोपेको कारण मकैका भर्खरै घोगा लाग्न मात्र थालेका थिए । तर हावाले सबै लडाईदियो । मकै काटेर निकालौ भर्खरै घोगा लाग्न थालेका छन्, नकाटौं मकैबारी भित्र लगाएको कोदो पनि कुहिने भयो ।’ कटवालले थपे, ‘यसपाली त जसोतसो चल्ला, तर अर्को वर्षका लागि भने न त विउ रह्यो, न त मकैको विउ नै । अनिकाल लाग्ने भयो ।’

यी दुईजना कृषक यहाँका प्रतिनिधी पात्र मात्र हुन् । हावाहुरीका कारण करीब ७ सय मुरी भन्दा बढी फल्ने कृषकका मकैमा प्रत्यक्ष क्षति गरेको छ । शुक्रबार आएको हावाहुरीले कुन्तादेवीमा रहेको डाडाँखर्क खरिचौर सामुदायीक वन र ढुंगे विसौनी सामुदायीक वनका झण्डै ५ सय बढि सल्लाका रुखहरु ढालेको छ । कुन्तादेवीमा सञ्चालन भैरहेको स्थानीय विद्युतको लाईनहरुमा रुख ढलेर पोल भाचिनुका साथै तार चुडिदा विद्युत प्रसारणमा अबरुद्ध भएको छ ।

यसैबिच हावाहुरीका कारण कृषकको मकैबारीमा क्षति भएपछि कुन्तादेवीमा रहेको स्थानीय सभाको टिमले आवश्यक अनुगमनका साथै कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन वडा अध्यक्ष प्रदिप कुमार वानिया मार्फत गाउँपालिकालाई अनुरोध गरेका छन् । मकैमा क्षति भएको भोलिपल्ट शनिवार बसेको स्थानीय सभाको बैठकले निर्णय कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन वडा कार्यालय मार्फत गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको थियो । अबरुद्ध भएको विद्युत शोमबार सम्म सञ्चालन आउन सकेको छैन ।