नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा कोरोना संक्रमण बढ्दै, बुधबार थपिए ३७ संक्रमित

ओखलढुङ्गान्युज साउन २०, ओखलढुङ्गा ओखलढुङ्गामा कोरोना भाईरसको संक्रमण दर उच्चगतीमा बढ्न थालेको छ । पछिल्लो दिनमा ओखलढुङ्गामा झण्डै ५० प्रतिशतको हाराहारीमा संक्रमणदर बढ्न थालेको हो ।

बुधबार ओखलढुङ्गामा ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार बुधबार जिल्लाको सिद्धिचरण नगरपालिकामा ३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जना र सुनकोसी गाउँपालिकामा ४० जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको हो । योसँगै ओखलढुङ्गामा कोरोना भाईरस संक्रमित हुनेको संख्या १ हजार ८ सय ५ पुगेको छ ।

त्यस्तै कोरोना भाईरस संक्रमण भएका २१ जनाले बुधबार संक्रमणलाई जित्न सफल भएका छन् । योसँगै कोभिड संक्रमण पश्चात जिल्लामा निको हुनेको संख्या पनि १ हजार ४ सय ४३ पुगेको छ । हाल ओखलढुङ्गामा ३ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ३३० जना होम आईशोलेसन र ९ जना संस्थागत आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।