नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

५ तोला सुन र ८० हजार नगद सहित पक्राउ परे सुनकोशीका तीन युवा

ओखलढुङ्गान्युज । साउन २०, ओखलढुङ्गा । चोरी गरेको ठूलो परिमाणको नगद तथा जिन्सी सहित जिल्लाको सुनकोशी गाउँपालिकाका तीनजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षिय सरगम बस्नेत, २० वर्षिय सूर्यबहादुर कटवाल र २१ वर्षिय आशिष कटवाल रहेका छन् । उनीहरु तीनैजना सुनकोशी गाउँपालिका वडा नं. ७ का युवाहरु हुन् ।

गत साउन १० गते राती सुनकोशी गाउँपालिका वडा नं. ७ च्यानमका विरेन्द्र कटुवालको किराना पसल चोरी भएको थियो । सो पसलबाट चोरी भएको सामान सहित १ जना शोमबार र दुईजना मंगलबार पक्राउ परेका हुन् । उनीहरुलाई सिन्धुली प्रहरीको सहयोगमा सिन्धुलीको ग्वालटार आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक  गोविन्दराज काफ्लेले बताए ।

बरामद भएका सामानहरु

पक्राउ परेका उनीहरुको साथबाट नेपाल टेलिकमको रिचार्ज कार्ड रु १ सय दरको २ सय ८४ थान, रु ५० दरको ९० थान र एनसेलको रु ५० दरको रिचार्ज कार्ड ३१ थान बरामद गरिएको प्रनाउ काफ्लेले बताए । त्यसैगरि उनीहरुको साथवाट मोबाइल ४ थान, सिमकार्ड ५ थान, सुनजस्तो देखिने पहेंलो धातु ५ तोला, नेपाली रुपैया नगद ८० हजार ८ सय ८०, भारु तीन हजार १ सय ७० र विदेशी पैसा १ हजार बरामद भएको पनि प्रनाउ काफ्लेले बताए ।

घटना हुनासाथ अनुसन्धानमा खटिएको ओखलढुङ्गा प्रहरीले उनीहरुलाई पक्राउ गर्न निकै कसरत गर्नुपरेको थियो । पसलवाट चोरी भएको रिचार्ज कार्ड प्रयोग भएको नम्बरको आधारमा मोबाइल ट्रयाकिङ गरेर उनीहरुलाई पक्राउ गरिएको प्रनाउ काफ्लेले बताए । प्रहरीसँगको बयानमा उनीहरुले चोरी गरेको स्वीकारेका छन् । चोरीमा अरुपनि संलग्न भएको आशंकामा उनीहरुलाई अदालतवाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अनुसन्धान पश्चात अभियुक्तलाई चोरी डाका अभियोगमा मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

उनीहरुले राती पसलको आग्लो खोलेर चोरी गरेको आशंका गरिएको छ । पसलवाट ५ लाख ५० हजारभन्दा बढी नगद, कानमा लगाउने रिङ १ जोर, दुईओटा औठी, एउटा सिक्रि तथा ५ तोलाको एउटा सुनको ढिक्का, पुराना चादीका सिक्काहरु र ३० हजार भन्दा बढी नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्डहरु चोरी भएको पिडित कटवालले बताएका छन् ।