नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

रुम्जाटार अस्पतालका ७ जनामा कोरोना संक्रमण, अस्पतालको सेवा बन्द

ओखलढुङ्गान्युज साउन १, ओखलढुङ्गा जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका दुईजना डाक्टर सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका स्टाफहरुमा नै कोरोना भाईरस संक्रमण भएको पुष्टि भएपछि अस्पतालवाट प्रदान हुने ईमर्जेन्सी सेवा बाहेकका सबै सेवाहरु अनिश्चित समयका लागि बन्द गरिएको जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।

संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रुम्जाटारमा कार्यरत दुई जना डाक्टर, स्टाफ नर्स १ जना, सुरक्षा गार्ड १ जना, अस्पतालका भान्से २ जना र १ जना कर्मचारीको परिवार रहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक उमा गुरुङले वताईन् । गुरुङका अनुसार अस्पतालका स्टाफहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि (आज) साउन १ गतेदेखि अर्को  सूचना जारी नभएसम्मका लागि आपतकालीन सेवाबाहेकका अन्य सेवाहरु बन्द गरिएको हो ।

अस्पतालका दुईजनामा बुधबार कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यस्तै उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्राक्ट ट्रेसिङका क्रममा विहिबार एन्टिजेन परीक्षण गर्दा अरु पाँचजनामा पनि संक्रमण पुष्टि भएको गुरुङले जानकारी दिईन् । संक्रमित डाक्टर तथा कर्मचारीको कन्ट्र्याकट्रेसिङमा आएकाहरुलाई समेत संक्रमण हुनसक्ने भएका कारण महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै अस्पतालको सेवाहरु बन्द गरिएको अस्पतालले जनाएको छ।

संक्रमितहरुको कन्ट्र्याक ट्रेसिङमा परेकोहरुको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि शुक्रबार नै काठमाण्डौं पठाईएको छ । उनीहरुको रिपोर्ट नआएसम्मका लागि अस्पतालका ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।