नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरवाट उद्धार

ओखलढुङ्गान्युज असार २०, खिजिफलाटे प्रसबको पिडामा छटपटाई रहेकी खिजीदेम्बा गाउँपालिकाका एक गर्भवती महिलालाई शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ५ की २६ वर्षिया ल्हमु शेर्पाको शनिवार उद्धार गरिएको हो ।

३६ हप्ताको गर्भवती रहेकी शेर्पामा केहिदिन अगाडी प्रसव पिडाका कारण मानसिक समस्या समेत देखिएको परिवार श्रोतले बताएको छ । सुत्केरी हुनेक्रम नजिकिदै गरेको र गर्भवती महिलामा मानसिक समस्या समेत देखिएपछि स्थानीयहरुको पहलमा खिजिफलाटे कोभिड अस्पतालमा ल्याईएको थियो । गर्भवती महिलालाई अस्पताल ल्याईएपनि उपचारका लागी पर्याप्त साधन र श्रोत नहुदा थप उपचारका लागि काठमाण्डौं लैजान स्थानीय स्वास्थ्यकर्मीहरुले परिवारलाई सुझाब दिएका थिए ।

कोरोना संक्रमण फैलने आशंकामा भैरहेको यातायात बन्द र केही दिनदेखी परेको भारी वर्षातका कारण गर्भवती महिलालाई काठमाण्डौं लैजान समस्या भएको थियो । काठमाण्डौं लैजान समस्या हुनुका साथै गर्भवती महिलामा थप समस्या बढ्दै गएपछि स्थानीय खिजिफलाटे कोभिड अस्पतालमा कार्यरत डाक्टर तथा नर्सहरुको सल्लाह बमोजिम राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत महिलालाई काठमाण्डौं पठाईएको खिजिदेम्बा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख गौतमका अनुसार जिल्लावाट उद्धार गरि काठमाण्डौं पठाईएकी गर्भवती महिलाको अहिले काठमाण्डौंको थापाथली प्रसुती गृहमा उपचार भैरहेको छ । महिलाको मानसिक समस्या बाहेक अरु सबैकुरा सामान्य रहेको जानकारी आएको पनि स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।