नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

कान्तिपुरका उपसम्पादक राई सहित पाँच पत्रकार सम्मानित

ओखलढुङ्गान्युज । असार २०, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाले जिल्लामा कृयाशिल कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई सहित विभिन्न पाँचजना पत्रकारलाई शनिवार नगद पुरस्कार सहित सम्मान गरेको छ । आठौं नगरसभाको समापनको अबसर पारेर शनिवार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।

नगद पुरस्कार सहित सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई, ओखलढुङ्गान्युज डटकमका सम्पादक बोध नारायण श्रेष्ठ, आफ्नो एफएमका स्टेशन म्यानेजर विनुमाया राई, आफ्नो एफएमका समाचार प्रमुख एवम् विभिन्न टेलिभिजनका ओखलढुङ्गा प्रतिनिधी रामहरि श्रेष्ठ र भिजन साप्ताहिक ओखलढुङ्गाका सरस्वती वानिया रहेका छन् । पाँचैजना पत्रकारहरुलाई जनही नगद रु ५ हजार सहित दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको हो ।

नगद तथा सम्मानपत्र प्रदान गर्दै नगरप्रमुख मोहन कुमार श्रेष्ठले आफुहरुको चारवर्षे कार्यकालको समिक्षाका लागि आगामी आर्थिक वर्षमा गोजि बुलेटिन प्रकाशन गर्न लागेको बताउनुभयो । त्यस्तै पत्रकारहरुको समग्र विकासको लागि पत्रकार महासंघ लाई १ लाख नगद विनियोजन गर्नुका साथै नगरपालिकाका निर्वाचित जनप्रतिनिधीको चार वर्षे कार्यकालको उपलब्धी र समिक्षाको भिडियो डकुमेन्ट्री बनाउनका लागि समेत आगामी आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । जिल्लामा कृयाशिल धेरै पत्रकारहरु भएपनि विधागत आधारमा नगरपालिकाले पाँचजना पत्रकारहरुलाई नगद सहित सम्मान गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले विभिन्न कठिनाईका बाबजुद पनि ओखलढुङ्गा जस्तो दुर्गम र जिल्लाको अझ दुर्गम भागसम्म पुगेर नागरिकहरुलाई सूचना सम्प्रेषण गराएको भन्दै पत्रकारहरुको प्रशंसा गर्नुभएको थियो । अघिल्ला आर्थिक वर्षहरुमा पनि सिद्धिचरण नगरपालिका मिडिया मैत्री बनेर सहकार्य गरेको बताउदै आगामी दिनमा पनि थप सहकार्यका लागि नगरपालिकाले योजना निर्माण गरेको बताउनुभयो । आगामी दिनहरुमा पनि जिल्लाका नगरपालिकाको राम्रो कामको सपोर्ट र गलत कामको सुधारका लागि सुझावको निरन्तर अपेक्षा रहेको समेत बताउनुभयो ।