नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

भिषण वर्षातका कारण ओखलढुङ्गा–काठमाण्डौं यातायात अबरुद्ध

ओखलढुङ्गान्युज । असार १९, ओखलढुङ्गा । विगत केहीदिन देखी आएको भिषण वर्षातका कारण ओखलढुङ्गावाट काठमाण्डौं चल्ने यातायातका साधनहरु अबरुद्ध बनेका छन् । लगातारको वर्षा पश्चात मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको सोखुखोलामा आएको बाढिका कारण सयौको संख्यामा सवारी साधनहरु अबरुद्ध बनेका हुन् ।

सयौं सवारी साधनहरु खोला पार गर्न नसकेपछि बाटामा सयौंको संख्यामा यातायातका साधनहरु र हजारौंका संख्यामा यात्रीहरु बाटामा नै अलपत्र परेका छन् । लगातार वर्षातका कारण शुक्रबार पनि अबरुद्ध बनेको सडक शुक्रबार बेलुकी पख केही मात्रामा सञ्चालनमा आएको थियो । तर शुक्रबार बेलुकी पनि आएको भिषण वर्षातका कारण शनिवार विहानै देखी पुन अबरुद्ध बनेको हो ।

खोलामा आएको बाढिका कारण अबरुद्ध बनेको यातायात सञ्चालनका लागि शनिवार दिउसो दुईओटा स्काभेटरको प्रयोग गरि बाटो बनाएर केही यातायातका साधनहरु भने खोला पार गरेका थिए । तर स्काभेटर खोलाबाट हिडेसगै पुन यातायात अबरुद्ध बनेको त्यहाँवाट यात्री सावित्रा श्रेष्ठले जानकारी दिईन् ।

ओखलढुङ्गाबाट काठमाण्डौंको यात्रामा रहेकी यात्री श्रेष्ठका अनुसार ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ तथा उदयपुरका पूर्वी भागवाट महत्वपूर्ण कामका कारण काठमाण्डौं गएका यातायातका साधन तथा यात्रुहरु अलपत्र परेका हुन् । शनिवार विहानै देखी काठमाण्डौं तर्फ लागेका सयौं यातायातका साधनहरु खोला पार गर्न नसक्दा अलपत्र परेका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सोखु खोलामा निर्माणाधिन अबस्थामा रहेको पक्की पूल निर्माणका लागि ठेकेदारले चासो नदेखाउदा र सरकारले समेत वेवास्ता गर्दा वर्षेनी ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ तथा उदयपुर जिल्लाका पूर्वि भागवाट काठमाण्डौंको यात्रा गर्ने हजारौ नागरिकहरुले सास्ती भोग्दै आएका छन् । वर्षातको समय त्यसमाथि कोरोनाका कारण हवाई सेवा सञ्चालन नहुदा र हेलिकप्टरको चार्टर गर्न नसक्ने विरामी तथा गरिव परिवारका नागरिकहरु खोलामा पुल नबन्दा वर्षेनी हुने यस्ता समस्याले झनै मारमा पर्ने गरेका छन् ।