नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

चिशंखुगढीमा पौने ४० करोडको बजेट सार्वजनिक

ओखलढुङ्गान्युज असार , सेर्ना चिशंखुगढी गाउँपालिकाका नवौं गाउँसभा बुधबारवाट सुरुवात भएको छ । बुधबारवाट सुरुवात भएको गाउँपालिकाको चौंथो बजेट अधिबेशन तथा नवौं गाउँसभामा गाउँपालिकाका उपप्रमुख सुष्मिका राईले आर्थिक वर्ष २०७८÷७९ का लागि पौने ४० करोड अर्थात ३९ करोड ८८ लाख ३५ हजार १ सय ५० रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ ।

ओखलढुङ्गा जिल्लामा रहेका ८ स्थानीय तहहरुमध्ये चिशंखुगढी गाँउपालिकाले पहिला आर्थिक वर्ष २०७८÷७९ का लागि नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा विभिन्न आन्दोलनका क्रममा सहिद तथा वेपत्ता भएका व्यक्तिका परिवारलाई मासिक रु २ हजार खर्च उपलब्ध गराउने महत्वकांक्षी योजना अगाडी सारेको छ । गाउँपालिकाको प्रशस्तै आयश्रोत नभई रहेको बेला सहिद तथा वेपत्ता भएका व्यक्तिका परिवारलाई मासिक खर्च उपलब्ध गराउने महत्वकांक्षी योजना गाउँपालिकाको लागि चुनौती समेत बनेको छ । यो महत्वकांक्षी योजना बाहेक गाउँपालिकाले नीति तथा कार्यक्रममा प्राय पुरानै कुराहरुलाई निरन्तरता दिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

बुधबार सार्वजनिक गरिएको बजेट अनुसार आगामी आर्थिक वर्षका लागि चिशंखुगढी गाउँपालिकामा पूजिगत तर्फ १३ करोड ७८ लाख ७ हजार रुपैया विनियोजन गरेको छ । त्यस्तै चालु तर्फ २६ करोड १० लाख २८ हजार १ सय ५० रुपैया विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि वित्तिय सामान्यीकरण अन्तर्गत संघिय सरकारबाट ८ करोड २२ लाख र प्रदेश सरकारवाट ४५ लाख ४८ हजार प्राप्त हुने अनुमानीत बजेट सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट मध्ये पूर्वाधार विकासलाई नै प्राथमिकता दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास तर्फ ७ करोड ६३ लाख ४८ हजार विनयोजन गरेको छ भने शिक्षामा १ करोड ६६ लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले विपद व्यबस्थापनका लागि भन्दै ४९ लाख ३५ हजार बजेटको विनियोजन गरेको छ ।