नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

वडाअध्यक्ष कमलले दिए खिजीदेम्बाका सबै वडामा स्वास्थ्य सामाग्री  

ओखलढुङ्गान्युज जेठ २८, ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका एक वडा अध्यक्षले व्यक्तिगत खर्चमा आफ्नो पालिकाका सबै वडामा स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । वडा नम्बर ४ का अध्यक्ष कमलप्रसाद न्यौपानेले व्यक्तिगत खर्चमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

खिजीदेम्बा गाउँपालिकाका सबै वडाका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई, पालिका स्तरीय कोभिड अस्पताल, ग्रामिण आँखा सेवा केन्द्र १÷१ थान पल्स अक्सिमिटर उपलब्ध गराएका छन् । त्यस्तै प्रत्येक वडामा एक हजारका दरले मास्क, खिजीकातीमा भने थप एक हजार मास्क र १५ लिटर सेनिटाइजर वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा खरिद गरेर सहयोग गरेका छन् ।

विश्वभर महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमणबाट खिजीदेम्बामा कसैले क्षति व्यहोर्न नपरोस् भन्ने उद्देश्यले सबै वडामा सकेको सहयोग गरेको न्यौपानेले बताए । महामारीको बेला नागरिकको जिवन रक्षाका लागि जहाँबाट जस्ले जति सकिन्छ त्यति गाउँठाउँका लागि सहयोग गर्नुपर्ने वडा अध्यक्ष न्यौपानेको भनाई छ ।

एमाले नेता समेत रहेका वडाअध्यक्ष न्यौपानेले व्यक्तिगत खर्चमा गतवर्ष गाउँका सबै महिला स्वास्थ्य स्वयम् सेविकाको कोरोना बीमा गरिदिएका थिए । त्यस्तै स्थानीय गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण गरेका थिए । खिजीदेम्बा गाउँपालिकामा यसवर्ष यसअघि कुनै निकायले स्वास्थ्य सामाग्री वितरण गरेका छैनन् ।