नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सोच नेपालद्वारा कुन्तादेवीमा सर्जिकल मास्क हस्तान्तरण

ओखलढुङ्गान्युज । जेठ २३, ओखलढुङ्गा । बढ्दो संक्रमणको रुपमा रहेको कोरोना भाईरस संक्रमणलाई मध्य नजर गर्दै सोच नेपाल ओखलढुङ्गाले मोलुङमा सर्जिकल मास्क हस्तान्तरण गरेको छ । सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत बोध नारायण श्रेष्ठ , स्थानीय सभाका अध्यक्ष ईन्दिरा खत्रीले संयुक्त रुपमा मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङको उपस्थितीमा वडा नं. १ कुन्तादेवीका अध्यक्ष प्रदिप कुमार बानियालाई शनिवार १ हजार थान मास्क उपलब्ध गराएका हुन् ।

कोरोना संक्रमण महामारीलाई लक्षित गर्दै कुन्तादेवीका नागरिकहरुलाई वडा कार्यालय मार्फत सर्जिकल मास्क उपलब्ध गराएको सोच नेपालले जनाएको छ । शनिवार नै संस्थाले कुन्तादेवीमा रहेको साझाबोली रेडियो श्रोता समूहका सदस्यहरुलाई समेत समूहका सहजकर्ता सुवास कटवाल मार्फत मास्क उपलब्ध गराएको जनाएको छ । संस्थाले अन्य स्थानीय तहमा रहेका रेडियो श्रोता समूह तथा स्थानीय सभाका सदस्यहरुलाई समेत मास्क र सेनिटाईजर उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै निषेधाज्ञाका कारण विहान बेलुकाका छाक टार्न समस्या भएका चिशंखुगढी भदौरेका केही नागरिकका परिवारलाई चाडै खाद्यान्न उपलब्ध गराउने तयारी समेत सोच नेपालले थालेको छ । यस अगाडी संस्थाले गोर्खा र काठमाण्डौमा समेत स्वास्थ्य सामाग्रीका साथै खाद्यान्न सामाग्री हस्तान्तरण गरिसकेको छ ।

नागरिक समाज स्थानीय अभियान कार्यक्रम मार्फत सोच नेपालले जिल्लाको मोलुङ गाउँपालिका र चिशंखुगढी गाउँपालिकामा आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम अन्तर्गत सोच नेपालले नागरिक समाज, सञ्चारकर्मी र सेवा प्रदायक निकायका विचमा जवाफदेहीता, पारदर्शीताका विषयमा विभिन्न अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको छ । त्यस्तै स्थानीय सरकारले निर्माण गर्ने ऐन, नीति, कानून निर्माणका लागि सहजीकरण गर्दै आएको छ ।