नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

पुल ढलानमा माटोसहितको गिट्टी बालुवा प्रयोग, कसले गर्ने अनुगमन ?

ओखलढुङ्गान्युज जेठ २१, ओखलढुङ्गा कोरोना संक्रमणको महामारी फैलिरहेको वेला जिल्लाका विभिन्न स्थानहरुमा विकास निर्माणका कामहरु तिब्रगतिमा भैरहेको छ । काम तिब्रगतिमा फैलिरहेको बेला अनुगमनको कार्य नहुदा ठेकेदार तथा कामदारहरुले गुणस्तरहिन सामाग्रीको प्रयोग गर्दै अनियमितता गरेको पाइएको छ ।

त्यसैको एउटा नमूनाको रुपमा सिद्धिचरण नगरपालिका वडा नं. ४ र चिशंखुगढी वडा नं. ८ जोड्ने मोटरेवल पक्की पुललाई लिन सकिन्छ । निर्माणाधिन यस पक्कि पुलमा गुणस्तरहिन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । ठेकेदारले ठेक्का सम्झौता गरेको एक वर्षसम्म काम नै नथालेर पटक पटक ताकेता गरेपछि बल्ल शुरु भएको जग निर्माणमै गुणस्तरहिन सामग्री प्रयोग भएको पाइएको हो ।

पुलको निर्माणका क्रममा ढलान गर्दा बालुवामा बराबरी माटो र गिटी समेत नपखाली माटैसहित घोलेर ढलान भइरहेको स्थानीय युवा कृष्ण भूजेलले बताउनुभयो । निषेधाज्ञाका बीच भइरहेको निर्माणमा अनुगमन गर्ने निकायको ध्यान नपुग्दा ठेकेदारले लापरवाही गरेको स्थानीयको भनाइ छ । २०७८ को बैशाखमै म्याद सकिएको पुलको जग हाल्ने काम भइरहेको छ ।

२०७६ बैशाख ५ गते खम्पाचे शेर्पा निर्माण सेवाले  ठेक्का सम्झौता गरेको उक्त पुलको निर्माण सम्पन्न गर्ने म्याद सकिएको छ । २०७८ बैशाख ४ गते सम्पन्न गर्नु पर्ने उक्त पुलको काम करिब ३० प्रतिशत मात्रै पुरा भएको छ । यही खोलामा उक्त कम्पनीले जिम्मा लिएका अन्य दुई मोटरेवल पुल समेत अलपत्र छन् ।

ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि जिल्ला प्रशासन कार्यालयले २०७७ माघमा रुग्ण आयोजनाका रुपमा सुचिकृत गरेर काम सक्न लिखित चेतावनी नै दिएको थियो । स्थानीय र प्रशासनको दवावले बल्ल काम थालेको ठेकेदारले पुलको जग निर्माण मै गुणस्तरहिन सामग्री प्रयोग गरेको स्थानीयको गुनासो छ ।