नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मोलुङका कोरोना संक्रमितलाई घरघरमा पुगेर औषधी वितरण

विएन श्रेष्ठ । जेठ १३, ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकाले कोरोना संक्रमितहरुलाई घरघरमा नै पुगेर औषधी वितरण गर्न थालेको छ । गाउँपालिकाका अध्यक्ष मणिराज राईको नेतृत्वमा विहिबार होम आईसोलेसनमा रहेका संक्रमितहरुको अवस्थाको बारेमा समेत अनुगमन, अवलोकन गरेको हो ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्षसहितको टोलीले विभिन्न वडाको होम आईसोलेसनमा रहेका कोरोना भाईरसका संक्रिय संक्रमितहरुको स्वास्थ्य अवस्था वुझ्दै घरघरमा नै पुगेर स्वास्थ्य परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधी वितरण गरिएको पालिकाका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो । सूचना अधिकृत नेपालका अनुसार स्वास्थ्य टोली सहित संक्रमितको घरघरमा नै पुग्नुभएका अध्यक्ष राईले औषधी वितरण सगै संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

स्वास्थ्यमा कुनैपनि जटिल समस्या देखा परेमा तत्काल स्वास्थ्य शाखामा सम्पर्क गर्न अध्यक्ष राईले आग्रह गर्नुभएको थियो । संक्रमितहरुलाई भेटेर अध्यक्ष राईले कोरोना संक्रमण भएपनि उच्च मनोवल राख्न र नेपाल सरकारले तोकेको मापदण्डलाई पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताउनुभयो । संक्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था बारेमा जानकारी लिदा, मास्क, सेनिटाईजर वितरण गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने  र भिटामिनयुक्त औषधी वितरण गर्दा संक्रमितहरुमा रोगलाई जित्ने आत्मबल बढ्ने पालिका अध्यक्ष राईको विश्वास छ ।

अनुगमन तथा औषधी वितरण कार्यक्रममा पालिकाका अध्यक्षसँगै उपाध्यक्ष हेमकुमारी तामाङ, वडा अध्यक्ष प्रदिप कुमार वानिया, पालिकाका स्वास्थ्य शाखाका कर्मचारीहरु, स्थानीय स्वास्थ्य चौकी प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।