नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

कोरोना संक्रमितको शब ब्यबस्थापनमा लापर्वाही भएको स्थानीयको गुनासो

ओखलढुङ्गान्युज । जेठ १३, ओखलढुङ्गा । कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएका ओखलढुङ्गाका दुईजनाको शबलाई नेपाली सेनाले खाल्डोमा पुरेको छ । तर खाल्डोमा पुर्नेक्रममा लापर्वाही गरिएको भन्दै स्थानीहरुले विरोध जनाएका छन् । मोलुङ गाउँपालिका वडा नं. २ की संक्रमित महिलाको शव व्यबस्थापनका क्रममा लापर्वाही भएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।

मंगलबार मृत्यु भएकी ति महिलाको शब जिल्ला सदरमुकामदेखी करीब १ घण्टाको दुरीमा रहेको मोलुङ मान्द्रेखोला दोभानमा खाल्डो खनेर नेपाली सेनाले पुरेको थियो । सेनाले शबलाई पुरेपछि उनीहरुले प्रयोग गरेका पिपिई सेट, पञ्जा तथा मास्कहरु त्यतिकै बाहिर छाडेर हिडेका थिए । प्रयोग गरिएको सामाग्री जथाभावी छाडिएको तस्विर सामाजिक सञ्जालवाट बाहिरीएपछि त्यसको चौतर्फी विरोध भएको थियो । मंगलबार बेलुकीको यो घटनासँगै विरोध भएपछि छरपष्ट रहेका ति सामाग्रीलाई बुधबार विहानै व्यबस्थापन गरिएको थियो ।

सामाजिक सञ्जालमा फोटो हाल्दै स्थानीयहरुले शब पुर्न सानो खाल्डो बनाईएको र स्याल तथा कुकुरहरुले सजिलै शबलाई निकालेर नजिकैको गाउँमा दुर्गन्ध फैलन सक्ने भन्दै चिन्ता सहित शब व्यबस्थापन स्थानको बारेमा समेत विरोध जनाएका थिए । सेनाले शबको व्यबस्थापन गर्न सानो खाल्डोमात्र बनाएको र उक्त स्थानमा मानिसको बाक्लो आवतजावत हुनेभएको भन्दै नागरिकमा त्रास समेत सृजना भएको थियो ।

सेनाले शबदहन गर्दै गर्दाको स्थान र अबस्थाको बारेमा स्थानीय सुनेश धमलाले सामाजिक सञ्जालमा फोटो तथा भिडियो नै पोष्ट गरेका थिए । उक्त फोटा तत्काल सामाजिक सञ्जालमा फैलिएपछि सामाजिक सञ्जाल मार्फत नै शब व्यबस्थापनको बारेमा विरोध भएको थियो । सामाजिक सञ्जालमा फैलिएको विरोधका विषमा नेपाली सेनाले भने स्काभेटरको प्रयोग गरि खाल्डो बनाएर मापदण्ड अनुसार नै शवदहन गरेको जनाएको छ ।

शब व्यबस्थापनको बारेमा नागरिकहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी वन्दना राईसँग बुझ्दा सामाजिक सञ्जालमा आएको उक्त कुरा गलत भएको बताउनुभएको छ । संक्रमित व्यक्तिको शबलाई लिपे खोलामा नै दहन गर्ने तयारी भएको भएपनि स्थानीय सरकारसँगको समन्वयमा मोलुङमा लगेर दहन गरिएको र त्यो पनि नेपाली सेनाले मापदण्ड पु¥याएर नै दहन गरेको उहाँको दावी छ । कोभिड संक्रमित मृतकको संख्या बढ्दै जादा र नेपाली सेनाले त्यसको ब्यबस्थापन गर्दैगर्दा कुनै त्रुटी भए तत्काल खबरदारी गर्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी राईले अनावश्यक भ्रम नफैलाईदिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी राईका अनुसार गत वर्ष संक्रमितहरु कसैको पनि मृत्यु नभएका कारण सजिलो भएपनि यसपटक संक्रमितको मृत्यु हुन थालेपछ शब व्यबस्थापनको विषयमा समेत चासो हुन थालेको छ । कतिपय स्थानीयहरुले आफूहरुसँगको छलफल विना शब दहन गरिएको भन्दै विरोध गरेपनि शब दहन र शब दहनका लागि स्थान छनौट गर्दा गाउँपालिका प्रमुख, वडा अध्यक्षहरु तथा वडा सदस्यहरु समेत सहभागी भएर मात्रै निर्णय कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी राईको भनाई छ ।

तर संक्रमितको उपचार तथा शब व्यबस्थापन स्थानको छनौटको बारेमा आवश्यक समन्वय हुन नसक्दा भने स्थानीयहरुको विवाद आउन थालेको छ । गत वर्ष बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको निर्णय अनुसार स्थानीय तहहरुले शब ब्यबस्थापनका लागि सम्भावित स्थानको पहिचान गरेपनि ठोस निर्णय भने गरेका छैनन् । गत वर्षको नै निर्णय अनुसार शब दहन कार्यलाई कार्यान्वयन गर्दा स्थानीय नागरिकहरुले विरोध जनाएका हुन् ।