नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

सांसद सुनुवारले ल्याए भिटिएम किटसहित स्वास्थ्य सामग्री

ओखलढुङ्गान्युज जेठ , ओखलढुङ्गा ओखलढुङ्गावाट निर्वाचित संघीय प्रतिनिधी सभाका सांसद माननिय यज्ञराज सुनुवारले कोभिड १९ संक्रमणको पिसिआर परिक्षण गर्न आवश्यक सामाग्री जिल्लामा हस्तान्तरण गर्नुभएको छ । पिसिआर परिक्षण गर्न आवश्यक भिटिएम किट सहित स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार र कोभिड १९ केयर सेन्टरका लागि हस्तान्तरण गर्नुभएको हो ।

जिल्लामा किट अभाव भएर कोरोना भाईरस परिक्षण रोकिने अवस्था आएपछि सांसद सुनुवारले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर भिटिएम किट, गाउन, सेनिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, थर्मोमिटर, पल्स, अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गर्नुभएको हो । जिल्लाको माग अनुसार विभागबाट सामग्री ल्याउनुका अतिरिक्त सांसद सुनुवारले थप मास्क तथा सेनिटाइजर समेत व्यक्तिगत पहलमा हस्तान्तरण गर्नुभएको छ ।

सुरक्षा निकाय, कोरोना संक्रमण उच्च देखिएका स्थानीय तह समेतलाई १० हजार मास्क तथा सेनिटाइजर जिल्ला ल्याएर हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि सुनुवारले स्थानीय तहलाई मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिसक्नुभएको छ । जिल्लामा संक्रमण दर उच्च भएपनि परिक्षणको दायरा साँघुरो रहेकाले बढाउन थप किट ल्याउने पहल भइरहेको सांसद सुनुवारले जानकारी दिनुभयो । एन्टिजेन किट तथा पिसिआरका लागि आवश्यक भिटिएम किट उपलब्ध गराउनका लागि स्वास्थ्य सेवा विभागलाई ताकेता गरेको सुनुवारले बताउनुभयो ।

सोमबार ओखलढुङ्गामा २ सय भिटिएम हस्तान्तरण गरेर काठमाण्डौं फर्किनुभएका सुनुवारले आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिइने र चाँडै थप परिक्षण किट उपलब्ध गराउने प्रतिबिद्धता समेत जनाउनुभएको छ ।