नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

भारतको कोभिड अस्पतालमा आगलागी, १६ को मृत्यु

ओखलढुङ्गान्युज बैशाख १८, काठमाण्डौं शनिवार दिउसो भारतको एक कोभिड उपचार अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको छ । एशियाली देश मध्ये भारतमा सङ्क्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समयमा पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको भारतीय अधिकारीहरुले वताएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी भएको हो । आगलागीको समयमा अस्पतालमा कोभिडका विरामीसँगै करिब ५० अन्य बिरामीहरू पनि रहेका थिए । अग्नी नियन्त्रकहरुको सहयोगमा आगो केही समयपछि नै नियन्त्रणमा आएको थियो । घटनामा परि दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

आगलागीको बारेमा हालसम्म कुनै खास कारण फेला नपरेपनि अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ  ज्यान  गएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यसअघि पनि महाराष्ट्रस्थित पालघर जिल्लामा रहेको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आइसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको थियो ।