नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

सांसद सुनुवारले गरे योजनाको अनुगमन, काम समयमै सक्न निर्देशन

ओखलढुङ्गान्युज बैशाख १६, ओखलढुङ्गा जिल्लामा निर्माणाधिन अवस्थामा रहेका विभिन्न आयोजनाहरुको बुधबार निर्वाचित जनप्रतिनिधी सहितको टोलीले अनुगमन गरेको छ । संघिय प्रतिनिधी सभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख र गाउँपालिका अध्यक्ष सहितको टोलीले निर्माणमा ढिलासुस्ती देखिएका जिल्लाका विभिन्न योजनाको अनुगमन गरेको हो ।

अनुगमनमा पुगेका टोलीले मोलुङ गाउँपालिका अन्र्तगत निर्माणाधीन रहेको ओखलढुंगा–रामपुर सडक कालोपत्रे, रामपुर स्थित स्वास्थ्य चौकी भवन, मोलुङ खोला मान्द्रे दोभानको पक्की पुल निर्माण योजनाको अनुगमन गरेका थिए । ती आयोजनामा भएको ढिला सुस्ती, कामको गुणस्तर र समय सीमा बारे छलफल भएको थियो ।

निर्माण व्यवसायी, सरोकारवाला तथा स्थानीय तहका जनप्रतिनिधीसहितको छलफलपछि समयमै काम सक्न गुणस्तरीय निर्माण गर्न निर्देशन दिइएको सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । सुनुवारले ओखलढुङ्गा रामपुर सडक जेठ १५ भित्र कालोपत्रे सम्पन्न गर्न निर्देशन दिइएको र रुम्जाटार खण्डमा भएको त्रुटीले काम नसकिदै सडक भत्किएपछि निरन्तर अनुगमन गरेर गुणस्तर कायम गर्न दवाव दिइएको सुनुवारले वताउनुभयो ।

टोलीले १० वर्षदेखि निर्माणाधीन मोलुङ खोलाको मान्द्रे पुलको  पनि अनुगमन गरेको छ । बर्षौंसम्म अलपत्र उक्त पुलको पटक पटक म्याद थपे पनि अझै पुरा हुन सकेको थिएन । उक्त पुलका विषयमा सांसद सुनुवारले संसद बैठकको विशेष समयमा सरकारको ध्यानाकर्षण समेत गराउनु भएको थियो । चौतर्फी दवावपछि अहिले ठेकेदारले धमाधम काम थालेको छ । पुल निर्माण ढलानको काम सक्ने क्रममा रहेको छ । केहिदिन अगाडी मात्रै प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् प्रदेश सांसद मोहन कुमार खड्का हिमशिखरले समेत पुलको अनुगमन समयमा काम सकाउने बारेमा ठेकेदार प्रतिनिधीसँग छलफल गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगत निर्माणाधीन सरस्वती मावि बुङ्नामको भवन अनुगमन गरेका छन् । विद्यालय भवन निर्माण तथा त्यसको गुणस्तरका बारेमा छलफल गरिएको अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव दिपक फुयालले जानकारी दिए । फुयालका अनुसार मंगलबारका आगलागी पिडित कुन्तादेवीका हर्कमाया प्रधानलाई सांसद सुनुवारले आर्थिक सहायता तथा खाद्यन्न सहयोग गर्नुभएको छ ।

निर्माणाधिन योजनाहरुको अनुगमनका लागि संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, मोलुङ गाउँपालिकाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी बन्दना राई सहितको टोली पुगेको थियो ।