नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

काठमाण्डौं उपत्यकामा आजदेखी १५ दिन निषेधाज्ञा

ओखलढुङ्गान्युज । बैशाख १६, काठमाण्डौं । नेपालको राजधानी काठमाण्डौं उपत्यकामा आज विहिवारदेखी निषेधाज्ञा लागू भएको छ । विहिवार विहान ६ बजे देखी १५ दिन सम्म यो जारी रहनेगरि निषेधाज्ञा आदेश भएको हो ।

बढ्दो क्रममा रहेको कोरोना भाईरसको संक्रमण महामारीलाई रोक्ने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको हो । सरकारले तत्काल आज देखी १ हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेपनि उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) को बैठकले उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गर्दै १५ दिन निषेध आदेश जारी गरेको छ।

सरकारले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक बाहेक सबै सेवा स्थगित हुनेछन् । यस अबधिमा सार्वजनिक र निजी यातायात बन्द हुनेछन् । अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी भने चल्न पाउने भएका छन्।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ।

तर निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई संस्थाको परिचयपत्रका आधारमा आवतजावत गर्न दिईनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी  बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीलाई सो व्यबस्था गरेको हो ।

साथै विवाहमा सहभागी हुन ब्यानर र दुलाह–दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ । उपत्यका बाहेक ५ सय भन्दा बढी संक्रमित भएका अधिकांश जिल्लाले आजै देखि लागू हुने गरी निषेधाज्ञा लगाएका छन् ।