नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

कुन्तादेवीको जंगलमा भिषण आगो, आगो नियन्त्रण वाहिर, चार घर जले

ओखलढुङ्गान्युज १४ बैशाख, ओखलढुङ्गा शोमबार साँझदेखी मोलुङ गाउँपालिकाको वडा नं. १ को कुन्तादेवीको जंगलमा लागेको आगो नियन्त्रण भन्दा बाहिर गएको छ । आगलागी सुरु भएको २४ घण्टा वितिसक्दा पनि आगलागी नियन्त्रणमा आउन नसकेको हो ।

आगलागीका कारण मंगलवार अपरान्ह मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीको गहते भन्ने स्थानका चार घर जलेर नष्ट भएको छ । आगलागीका कारण निर कुमार प्रधानको दुईओटा घर, मणी कुमार प्रधानको एउटा घर तथा धन बहादुर केसीको एक घर तथा भरभित्र रहेको अन्य अन्नपात र सम्पतीहरु डढेर नष्ट भएको हो । सयौ स्थानीय नागरिक, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टिम परिचालन भएर आगो नियन्त्रणको प्रयास गरिएको भएपनि आगोलाई नियन्त्रणमा लिन नसक्दा उक्त घरहरु आगलागीको कारण नष्ट भएको हो । आगलागीका कारण घरमा भएको लाखौको भाडाकुडाँ र अन्नपात नष्ट भएको भएपनि पशुचौपाय र मानविय क्षति भने भएको छैन ।

आगलागीका कारण मोलुङ गाउँपालिका वडा नं. १ र २ कुन्तादेवी तथा बरुणेश्वरका केही मानव वस्तिहरु जोखिममा परेका छन् । आगलागीको जोखिममा रहेका घरहरुलाई सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरुको टिमले जोगाउने प्रयास गरिरहेका छन् । सुख्खा मौसमका कारण पानी नपरेर खडेरी रहेको, जंगलका रुखका पातहरु झरेर सुकेको तथा आगलागी नियन्त्रण गर्नका लागि पानीको अभाव हुदा आगलागी नियन्त्रणमा कठिनाई भएको आगलागी नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

कुन्तादेवीमा आगलागीको सृंखलाबद्ध घटना भएपछि आगलागी गर्ने व्यक्तिको पहिचान गरि कडा कार्बाहीको लागी स्थानीय नागरिकहरुले माग गरेका छन् । यो आर्थिक वर्षमा मात्रै ओखलढुङ्गाका विभिन्न स्थानीय तहमा ३ दर्जन भन्दा बढि स्थानमा आगलागीका घटना भएका छन् । आगलागीलाई नियन्त्रण गर्न स्थानीय नागरिक र सुरक्षाकर्मीहरु खटिएपनि आगलागी गर्नेको पहिचान गर्न र उनीहरुलाई कार्बाही गर्न तर्फ सरोकारवाला निकायले खासै चासो नदिएको स्थानीयहरुको आरोप छ ।

आगलागीको घटनामा संलग्नहुनेहरुलाई कार्बाहीको दायरामा नल्याउदा आगलागीको घटना उच्च गतिमा बढेको उनीहरुको आरोप छ । आगलागीका कारण उत्पन्न भएको धुवाले मंगलबार दिउसो दिनभर ओखलढुङ्गा सदरमुकाम आसपासका क्षेत्रमा समेत ढाकेको थियो । दिउसो देखी हावा चल्दा अपरान्ह पछि आगोको लप्काहरु थप जंगल तथा वस्ति तर्फ आगो लागेको छ । आगो नियन्त्रणको लागि प्रयास जारी रहेको छ ।