नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा बेबारिसे पाईप बम भेटियो

ओखलढुङ्गान्युज, १२ बैशाख ओखलढुङ्गा ओखलढुङ्गामा आईतवार बेबारिसे अवस्थामा दुईथान पाई बम फेला परेको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ साविकको भुसिंगा गाविस वडा नं. ७ मा पर्ने घुन्सा खोल्सीको सानो ओडारमा फेला परेको हो । यो खोल्सी साविकको भुसिंगा गाविस र रावादोलु गाविसको सिमानामा पर्छ ।

आईतवार विहान स्थानीय बालकहरु घाँस काट्न उक्त स्थानमा पुग्दा प्लाष्टिकले बेरेर राखेको र प्लाष्टिक भित्र तारले बेरेको उक्त पाईप फेला पारेका थिए । बालकहरुले ति दुवैलाई त्यहाँवाट निकालेर केही माथिसम्म पुर्याएका थिए । बाहिर निकालेर प्लाष्टिक खोल्दा भित्र विद्युतको तार देखेपछि हल्ला गरेका थिए । हल्ला सँगै त्यो खबर तत्काल स्थानीय प्रहरी चौकीमा पुगेपछि प्रहरीको टोली सहित स्थानीयहरु उक्त स्थानमा पुगेर अबलोकन गरेको स्थानीय डिल बहादुर परियारले जानकारी दिए ।

उक्त पाईप बम नै भएको पुष्टि भएपछि प्रहरीले जिल्लामा खबर गरेको थियो । बम भेटिएको बारेमा पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी बन्दना राईले सूचना प्राप्त भएपछि प्रहरी र नेपाली सेनाको टिमसँग समन्वय गरि बम डिस्पोजलका लागि टिम पठाईएको जानकारी दिनुभयो । बम डिस्पोजलका लागि नेपाली सेनाको ओखलढुङ्गामा रहेको अरिदमन गणको नेतृत्वमा सुरक्षाकर्मीको बम डिस्पोजल टोली उक्त स्थान तर्फ लागेको छ ।

उक्त पाईप बममा खिया समेत लागेको देखिएको स्थानीयले बताएका छन् । प्लाष्टिकले बेरेर राखेको उक्त वम द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) हरुले राखेको आशंका गरिएको छ ।