नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

उदयपुरको कटारी–घुर्मी सडकखण्ड आजदेखी अनिश्चित कालीन बन्द

ओखलढुङ्गान्युज, ६ बैशाख । ओखलढुङ्गा । उदयपुरका स्थानीयले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् । जिर्ण रुपमा रहेको उक्त सडक खण्डको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले आज (शोमबार) देखी अनिश्चितकालका लागि बन्द गरेका हुन् ।

उदयपुरका स्थानीयले कटारी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो । संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको सुनुवाइ नभएपछि सडक बन्द गर्न बाध्य भएको संघर्ष समितिका संयोजक एवम् वडा अध्यक्ष बुढाक्षत्रीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तथा आन्दोलन समितिका अध्यक्ष बुढाक्षत्रीका अनुसार कटारी–घुर्मी (४७ कि.मी.) सडक खण्डको स्तरउन्नतीका लागि आर्थिक वर्ष २०७८/७९ को लागि विनियोजन हुने बजेटमा बजेटको सुनिश्चितता हुनुपर्ने मुख्य माग संघर्ष समितिले राखेको छ । त्यस्तै घुर्मी–कटारी–मिर्चैया सडक खण्ड हेर्ने छुट्टै कार्यालयको स्थापना हुनुपर्ने तथा सडकको स्तरोन्नतीका लागि तत्काल डिपीआरको व्यबस्था गर्नुपर्ने माग सहित सडक खण्ड बन्द गरेको बुढाक्षत्रीले बताउनुभयो ।

संघर्ष समितिले कटारी–घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङमा बन्द गरेको छ । बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट आएका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्मीमा रोकिएका छन् । त्यस्तै उदयपुरको ताप्ली, लिम्चुङ्बुङ गाउँपालिकाबाट आएका सवारीहरू कटारी–११ को बेतेनी र कटारीबजारबाट गएका सवारीसाधनहरुलाई कटारी–८ को पट्नाभञ्ज्याङमा रोकिएका छन् । सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन् ।

संघर्ष समितिले गरेको बन्दमा एम्बुलेन्स भने चल्न दिन बताएको छ । एम्बुलेन्स भन्दा बाहेकको कुनैपनि सवारी साधन उक्त सडक खण्डमा आफुहरुको माग पुरा नभएसम्म चल्न नदिने संघर्ष समितिले जनाएको छ । सडक बन्द गर्नु आफुहरुको रहर नभई बाध्यता भएको भन्दै आन्दोलनमा सहयोग गरि सडक निर्माणको कार्यलाई सुनिश्चित गराउन सहयोग गर्न संघर्ष समितिले सबैमा आग्रह समेत गरेको छ ।

हाल सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४७ किलोमिटर सडक जीर्ण बनेको छ। सडक कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । यस सडकखण्डमा वषौँअघि गरिएको ओटासिल भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ । यात्रु र स्थानीयहरू वर्षा याममा हिलो र हिउँदमा धुलो आजित हुँदै आएका छन् ।