नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामेछाप नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक

ओखलढुङ्गान्युज, चैत १२, २०७७ । ओखलढुङ्गा । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आफ्नो छुट्टै स्थानीय पाठ्यक्रम सार्वजनिक गरेकाे छ । नगरपालिकाको पहलमा निर्माण भएको उक्त पाठ्यक्रमलाई एक कार्यक्रमकाबीच आज सार्वजनिक गरिएको हो ।

आज सार्वजनिक गरिएको पाठ्यपुस्तकको नाम हाम्रो रामेछाप नगरपालिका रहेको छ । सार्वजनिक पाठ्यपुस्तकलाई नगरपालिका क्षेत्रको सबै वडाहरुमा रहेका कक्षा १ देखि कक्षा ८ सम्म का विद्यार्थीहरुलाई लागू गरिएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले बिज्ञ टिमको निर्माण गरेको थियो । विज्ञ टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षा सम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी पाठ्यपुस्तक तयार गरेको हो ।

पुस्तकमा रामेछाप नगरपालिकाको चिनारी, स्थानिय धार्मिक स्थलहरू, विविध जातजातिहरू, स्थानिय चाडपर्वहरू, स्थानिय भाषाहरु, स्थानीय बाजाहरू, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन्  । आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले कक्षा १ देखी ८ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो । अनिवार्य र ऐच्छिक विषय बाहेक १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ ।

पुस्तकको रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले लोकापर्ण गर्नुभएको हो । पुस्तकको लोकापर्ण गर्दै उहाँले स्थानीयले आफै १०० पूर्णाङ्कको पाठ्यपुस्तक तयार पारेर लागु गर्दा बालबालिकाले आफ्नो गाउँ–ठाउँ, कलासंस्कृति, भेषभुषा, सम्पदा, भावनात्मक सम्बन्ध लगातमा बारेमा जानकारी पाउने र उनिहरुलाई गाउँ ठाँउमै रहने वातावरणको विकास हुने नगरप्रमुख थापामगरले बताउनुभयो । पाठ्यपुस्तकलाई कार्यान्वयन गराउनु महत्वपूर्ण रहेको भन्दै उहाँले यसका लागि शिक्षकहरुले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्ला दिनहरुमा देशभरका स्थानीय तहहरुले आधारभूत तहका कक्षाहरुमा १ सय पूर्णाङ्क बराबरको स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने क्रम बढेको छ । स्थानीय तहले स्थानीय पाठ्यक्रम लागू गरेपनि कतिपयलाई भने लाखौँ खर्च गरेर कपिपेष्ट गरेको आरोप समेत लाग्ने गरेको छ ।