नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलको राहत सामग्री

ओखलढुङ्गान्युज, फागुन २९, २०७७ विराटनगर नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङका आगलागी पिडितहरुलाई शुक्रबार राहत सामाग्री वितरण गरेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाइ खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । टोलीमा प्रदेश सांसद प्रतापप्रकाश हाङगामा र चन्द्रप्रसाद श्रेष्ठ पनि सहभागी रहेका थिए ।

प्रमुख सचेतक कार्कीका अनुसार पिडित सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्वीन्टल, पाँच बोरा भूजा, नुनतेल, साबुन, चाउचाउ, म्याटरेक्स, तन्ना, ब्लांकेट एकसय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उपलब्ध गराइएको हो ।

संसदीय दलले शुक्रबार कार्यक्रमस्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि वितरण गर्न बाँकी सामग्री भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई हस्तान्तरण गरेको थियो । लिम्बूले गाउँपालिकाको समयन्त्र मार्फत बाँकी परिवारलाई राहत विरतण गरिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

आगलागी भएको घटना लगत्तै दोभान बजार पुगेका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार रु. ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । राहत तथा पुर्नस्थापनाको लागि प्रति परिवार कम्तिमा रु. ३ लाख उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋणसमेत दिन स्थानीयले माग गरेको प्रमुख सचेतक कार्कीले बताउनुभयो ।

कांग्रेस संसदीय दलसंगै पुगेको फुड बैंक लायन्स क्लब अफ इटहरी सुनसरीले पीडित परिवारलाई चामल उपलब्ध गराएको अध्यक्ष ई. भविन खड्का र चेयर पर्सन निर्मला चौधरीले बताए । गत एघार दिनअघि ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा भीषण आगलागी भएको थियो ।