नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

महिला दिवसको अवसरमा प्राप्चामा दिप प्रज्वलन

  

ओखलढुङ्गान्युज, फागुन २५, २०७७ प्राप्चा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मोलुङ गाउँपालिकाको प्राप्चामा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । कोभिड १९ का कारण ज्यान गुमाउनेहरुको सम्झना तथा कोभिड नियन्त्रणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा महिलाको हक अधिकारका क्षेत्रमा लागिपर्नेहरुको सम्मान स्वरुप दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा १११ ओटा नै मैनवत्ति बालिएको थियो । मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङको विशेष उपस्थितीमा सम्पन्न भएको दिप प्रज्वलन कार्यक्रममा मोलुङ गाउँपालिकाका वडा अध्यक्षहरु, मोलुङ गाउँपालिका स्तरिय राजनितिक पार्टीका नेताहरुका साथै स्थानीय नागरिकहरुले समेत सक्रिय सहभागिता जनाएका थिए ।

दिप प्रज्वलन कार्यक्रममा आफ्नो धारणा राख्दै मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङले पछिल्ला दिनमा कोरोनाको संक्रमण क्रम केही कम भएपनि ढुक्क भने भैनसकेको बताउनुभयो । कोभिड १९ को नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँहरुको सम्मान तथा मृतकको सम्झनामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेकोमा सोच नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

कोभिड १९ लगायतका महामारीको नियन्त्रणका लागि नागरिकहरु आफैले सतर्कता अपनाउनुपर्नेमा जोड दिदै उपाध्यक्ष तामाङले घरेलु हिंसाजन्य घटनाको नियन्त्रणका लागि घटना भैहालेमा त्यसको सार्वजनिक गर्दै सचेतना कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । कार्यक्रम मोलुङ गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो ।