नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघ्यो

ओखलढुङ्गान्युज, फागुन २०, २०७७ काठमाण्डौं बुधबारसम्म नेपालमा कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३  हजार नाघेको छ । सरकारले नेपालमा कोरोना भाईरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्याको तथ्यांकलाई बुधबार सच्याएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ हजार नाघेको हो ।

शव व्यवस्थापनमा खटिएको नेपाली सेना र कोभिड संकट व्यवस्थापन केन्द्रबीचको तथ्यांक फरक भएपछि सेनाको तथ्यांकको आधारमा तथ्यांकलाई सरकारले बुधबार सच्याएको थियो । फरक तथ्यांकलाई नेपाली सेनासँग भएको तथ्यांकका आधारमा सच्याइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले गरेको परिभाषाको आधारमा कोरोनाका कारण भएका मृत्युमा समायोजन गर्दा ज्यान गुमाउनेको संख्या बढेको डा. पौडेलले बताउनुभयो । सच्याईएको तथ्यांकका आधारमा २ सय ३३ मृतक थपिएसँगै बुधबारसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ परिभाषा अनुसार सरकारले मिल्दाजुल्दा लक्षण भएको र त्यो क्षेत्रमा अरु कसैलाई कोरोना सङ्क्रमण पुष्टि भएको भएमा मृतकको परीक्षण नगरेको भए पनि कोरोनाका कारण ज्यान गएको तथ्यांकमा समेट्नुपर्छ ।