नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नयाँवर्षमा प्रथम थोलेदेम्बामा सांस्कृतिक महोत्सव, खुला पुरुष भलिवल प्रतियोगिता पनि हुने

ओखलढुङ्गान्युज, फागुन २०, २०७७ ओखलढुङ्गा नेपाल सरकारको १०० गन्तव्यको सूचिभित्र परेको ओखलढुङ्गाको थोलेदेम्बा डाडामा प्रथम थोलेदेम्बा सांस्कृतिक महोत्सव हुने भएको छ  । कोरोनाले थलिएको पर्यटन व्यबसायलाई उठाउने उद्धेश्यका साथ आउदै गरेको नयाँ वर्ष २०७८ को अवसर पारेर प्रथम थोलेदेम्बा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल सरकारले घोषणा गरेको १०० गन्तव्यको सूचिमा परेको ओखलढुङ्गाका दुई स्थान मध्ये थोलेदेम्बा पनि एक हो । अर्को पोकली झरना रहेको छ । थोलेदेम्बा डाँडामा भौगोलिक नक्शा मापनका लागि निर्माण गरिएको जंगे पिलरसँगै यसका आसपासमा विभिन्न प्रजातीका फुलेका गुराँसहरुको मनोरम दृश्यावलोकन गर्न पाईन्छ । त्यस्तै देम्बाडाँडाको आसपासमा रहेको विभिन्न प्रजातीका जनावर, चराचुरुङ्गीहरु, शक्तिशाली देवी मानिने सेतिदेवीथान, किलखोर्दिङ गुम्बा, निर्माणाधिन बौद्ध स्तुपाको अबलोकनसँगै प्राकृतिक सौन्दर्यताको मनोरम दृश्यावलोकन गर्न पाईनेछ ।

सांस्कृतिक महोत्सवको अवसर पारेर उक्त स्थानमा चैत २९ देखी अन्तरपालिका स्तरिय खुला भलिवल प्रतियोगिता समेत हुने भएको छ । समुद्री सतह देखी ३३ सय ५० मिटरको उचाईमा रहेको थोलेदेम्बामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद भन्ने मूल नाराका साथ सांस्कृतिक महोत्सवको अवसर पारेर दावा एग्रो टुरिजम प्रा.लि.ले भलिवल प्रतियोगिताको आयोजना गरेको हो ।

प्राकृतिक रुपमा नै पर्यटन प्रबर्धनको लागि प्रचुर सम्भावना बोकेको ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाको थोलेदेम्बाडाँडामा खेलकुदको आयोजना गरि खिजिदेम्बा गाउँपालिका र ओखलढुङ्गा जिल्लालाई नै पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधी आङदावा शेर्पाले बताए ।

शेर्पाका अनुसार प्रतियोगिताका विजेता टिमले क्रमशः नगद रु १ लाख, ५० हजार र २५ हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि एउटा टिममा एउटै गाउँपालिकाका खेलाडी हुनुपर्ने, राष्ट्रिय खेलमा सहभागीता जनाईसकेका वा छनौटमा परेकाले भने खेलमा सहभागी हुन पाउने छैनन् ।

नयाँवर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सब भने एकदिन अर्थात बैशाख १ गते मात्रै हुनेछ । महोत्सवमा मनोरम दृश्यावलोकनका साथै बृहत सांस्कृतिक कार्यक्रमका साथ डिजे सेसन हुने आयोजकले जनाएको छ ।