नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामप्रसाद राई अन्तर पालिका स्तरिय महिला भलिवल प्रतियोगीताको उपाधी ओखलढुङ्गाको मानेभञ्ज्याङ्गलाई

 

ओखलढुङ्गान्युज, फागुन १८, २०७७ ओखलढुङ्गा भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरिय महिला भलिवल प्रतियोगितामा ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकाले उपाधी चुमेको छ । गत फागुन १३ गतेदेखी सुरुवात भएको प्रतियोगिताको मंगलबार भएको प्रतिष्पर्धामा खोटाङ जिल्लाको ऐशेलुखर्क गाउँपालिकाले वाकओभर दिएपछि मानेभञ्ज्याङ्ग गाउँपालिकाले उपाधीमाथि कब्जा जमाएको हो ।

विजेता भएसँगै मानेभञ्ज्याङ्ग गाउँपालिकाले नगद रु १ लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै वाक ओभर दिएको खोटाङको ऐशेलुखर्क गाउँपालिकाले नगद १ लाख, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै आयोजक रामप्रसाद गाउँपालिका भोजपुर तेश्रो र आमचोक गाउँपालिका भोजुपुरले सान्त्वना स्थान प्राप्त गरेको छ । तेश्रो र सान्त्वना स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद रु ५० हजार, २५ हजार सँगै शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।

महिला भलिवल प्रतियोगिताको विधागत क्षेत्रमा पनि तिनओटा शिल्ड मानेभञ्ज्याङ्गको हातमा परेको छ । विधागत तर्फ सर्बोत्कृष्ट खेलाडीमा जर्सी नं. २ का चन्द्र कुमारी बस्नेत, बेष्ट डिफेन्डरमा जर्सी नं. २ का प्रतिभा राई र बेष्ट सेटर तर्फपनि मानेभञ्ज्याङ्ग गाउँपालिका कै जर्सी नं. ३ का पूर्णिमा राई शिल्ड हात पार्न सफल भएका छन् । त्यस्तै रामप्रसाद राई गाउँपालिका दुई खेलाडी वेष्ट सर्भरमा जर्सी नं. २ र वेष्ट स्पाईकरमा जर्सी नं. ८ ले शिल्ड प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै पुरुष तर्फ पनि आजै सम्पन्न भएको खेलमा षडानन्द नगरपालिका भोजपुर, सभापोखरी गाउँपालिका संखुवासभा, आमचौक गाउँपालिका भोजपुर र गौरादह नगरपालिका झापाले क्रमशः प्रथम, दोश्रो, तेश्रो र सान्त्वना स्थान प्राप्त गरेका छन् । विजेता टिमले क्रमश नगद रु १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन् ।

सहिद रामप्रसाद राईको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त अन्तरपालिका स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको राईको जन्मदिन फागनु १८ पारेर समापन गरिएको हो । प्रतियोगिताको उद्घाटन रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष विजय राईले गर्नुभएको थियो भने विजेताहरुलाई पुरस्कार वितरण सगै कार्यक्रमको समापन भने जिल्ला समन्वय समिति भोजपुरका प्रमुखले गर्नुभएको ओखलढुङ्गाका टिम कोच रुपलाल तामाङले जानकारी दिनुभयो ।

गत फागुन १३ गते सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका गरि महिला तर्फ ८ टिम र पुरुष तर्फ १३ टिमको सहभागीता रहेको थियो । एउटा टिममा एकै गाउँपालिका भित्रका खेलाडी मात्रै सहभागी हुन पाईने नियम आयोजकले बनाएकोमा खोटाङका महिला टिममा फरक फरक गाउँपालिकाका खेलाडीहरु सहभागी भएको भनेर विवाद भएपछि खोटाङको ऐशेलुखर्क गाउँपालिकाले फाईनलमा ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकालाई वाकओभर दिएको थियो ।