नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

पालिका केन्द्र बारे विवादमा नागरिकको नाराबाजी, गाउँसभा स्थगित

ओखलढुङ्गान्युज, फागुन १८, २०७७ प्राप्चा मोलुङ गाउँपालिकाका स्थानीय नागरिकहरुले पालिकाको हिउदे गाउँसभा चल्दै गर्दा बाहिर नारावाजी गरेका छन् । गाउँपालिकाको सातौं गाउँसभा चल्दै गर्दा गाउँपालिकाको केन्द्रको भवन कहाँ बनाउने भन्ने विषयमा गाउँपालिकाले निर्णय गर्न नसकेको भन्दै साविकको प्राप्चा गाविसका स्थानीय नागरिकहरुले गाउँसभा बाहिर नारावाजी गरेका हुन् ।

लामो समयदेखी विवादमा रहेको मोलुङ गाउँपालिकाको मुकाम प्राप्चामा नै रहने भन्ने गरि टुङ्गो लागेपनि वडा नं. ३ मा रहने कि वडा नं. ५ मा रहने भन्ने बारेमा गाउँपालिकाले टुङ्गो लगाउन सकेको छैन । गाउँ पालिकाको भवन निर्माणका लागि साविकको प्राप्चा हालको मोलुङ गाउँपालिका वडा नं. ३ र ५ दुवै ठाउँका नागरिकहरुले गाउँपालिकाका लागि निशुल्क जग्गा उपलब्ध गराएका छन् । नागरिकहरुले निशुल्क रुपमा जग्गा उपलब्ध गराएपनि पालिकाको मुख्य कार्यालय रहने गरि भवन चाहि कहाँ बनाउने भन्ने बारेमा पालिकाले कुनैपनि निर्णय गर्न सकेको छैन ।

एक वडा अध्यक्षका अनुसार कार्यपालिकाका बहुमत सदस्यहरु वडा नं. ३ मा रहेको जग्गामा नै पालिकाको भवन निर्माण गर्नेपक्षमा छन् । केही सदस्यहरु भने गाउँपालिकाको भवन निर्माणका लागि वडा नं. ५ का स्थानीय नागरिकहरुले पहिला जग्गा उपलब्ध गराएकोले वडा नं. ५ मा नै बनाउनुपर्ने अडानमा छन् । तर स्थानीय नागरिकहरुले भने वडा नं. ५ का वडा अध्यक्षको दावावका कारण हालसम्म पनि गाउँपालिकाको नयाँ भवन बन्ने स्थानको बारेमा गाउँपालिकाले निर्णय नगरेको भन्दै तत्काल पालिकाको भवन निर्माण गर्ने स्थानको टुङ्गो लगाउन माग गर्दौ दर्जनौं स्थानीयले शोमबार कार्यपालिका परिसरमा नै पुगेर नाराबाजी गरेका हुन् ।

गाउँसभा चलिरहेको बेलामा नागरिकहरुले गाउँपालिकाको मुकाम रहने स्थानको टुङ्गो लगाउन माग गर्दै नारावाजी गरेपछि मंगलबार सम्मका लागि मोलुङ गाउँपालिकाको हिउदे सभा स्थगित भएको छ । नाराबाजी भएपछि सभावाट बाहिर निस्किनु भएका गाउँपालिकाका अध्यक्ष मणिराज राई, उपाध्यक्ष हेम कुमारी तामाङ तथा वडा नं. ३ र ५ का वडा अध्यक्षहरुलाई नागरिकहरुले घेरामा हालेका थिए । आन्दोलनकारी नागरिकहरुले यहि गाउँसभावाट गाउँपालिकाको केन्द्रको विषय टुङ्गो लगाउन माग गरेका थिए ।

नागरिकहरुको घेराबन्दिमा परेका वडा नं. ५ का वडा अध्यक्ष र नागरिक विचमा चर्काचर्की भएको थियो । विवादले उग्ररुप लिन थालेपछि गाउँपालिका अध्यक्ष राईले मंगलबार बस्ने गाउँसभाको अर्को बैठकमा नै यस मुद्दाको टुङ्गो लगाउने प्रतिबद्धता जनाउनुभएको थियो । आन्दोलनकारीहरुले वडा नं. ३ मा नै गाउँपालिकाको मुकाम कायम गरी भवन निर्माणका लागि माग गर्दै दाबाब मूलक नाराबाजी गरेको स्थानीय टेक बहादुर तामाङले जानकारी दिनुभयो । तर वडा नं. ५ का वडा अध्यक्ष टंकनाथ दाहाल भने गाउँपालिकाको मुकाम वडा नं. ५ मा नै बन्नुपर्ने अडानमा रहेका छन् ।

मोलुङ गाउँपालिकाका अर्को बैठक फागुन १८ गते विहान ८ बजे बस्ने गरि स्थगित भएको छ । गाउँपालिकाको दुई स्थानमा जग्गा उपलब्ध गराएपछि नेपाल सरकारको उद्योग मन्त्रालयले समेत प्राप्चामा नै उद्योगग्राम सञ्चालन गर्ने गरि तयारी थालेको छ । उद्योगग्राम पनि वडा नं. ३ मा रहने कि ५ मा भन्ने बारेमा टुंगो लाग्न सकेको छैन ।