नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ओखलढुङ्गामा यातायात व्यबस्था कार्यालय उद्घाटन, सवारी सम्बन्धि सबै काम हुने

ओखलढुङ्गान्युज, फागुन १४, २०७७ ओखलढुङ्गा शनिवार ओखलढुङ्गाको रुम्जाटारमा यातायात व्यबस्था कार्यालयको समुद्घाटन गरिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शनिवार रुम्जाटारमा आयोजित एक कार्यक्रमका विच यातायात व्यबस्था कार्यालयको औपचारीक समुद्घाटन गर्नुभएको हो ।

औपचारीक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश कार्यालय रहेको विराटनगरमा नै यातायात व्यबस्था कार्यालय नभैरहेको अवस्थामा ओखलढुङ्गा र आसपासका नागरिकलाई सेवा प्रवाह गर्ने उद्धेश्यले कार्यालयको व्यबस्था गरिएको बताउनुभयो । यातायात व्यबस्था कार्यालय स्थापना भएपश्चात फागुन १५ देखी ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुरका नागरिकहरुले प्रशस्तै लाभ लिन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघियता कार्यान्वयनको क्रममा प्रदेश कार्यालय स्थापना भएपश्चात स्थापनाको ३ वर्ष सकिदै गर्दा प्रदेश सरकारले गरेको २३२ ओटा सफल कामहरुको लिट गोजी पुस्तिकामा सर्वसाधारणले हेर्न सक्ने गरि सार्वजनिक गरिएको पनि बताउनुभयो । सरकारको राम्रा कामहरुवाट अतालिएर केही मान्छेहरु छटपटाएको भन्दै मुख्यमन्त्री राईले सरकारका काममा सबै नागरिकलाई समर्थन गर्न आग्रह गर्नुभयो ।

कार्यालयको उद्घाटन सभा कार्यक्रमलाई भौतिक पूर्वाधार राज्यमन्त्रि अम्बिरबाबु गुरुङ, सिद्धिचरण नगरपालिका ओखलढुङ्गाका मेयर मोहन कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मजुवागढी गाउँपालिका खोटाङका प्रमुख दिप नारायण रिजाल, नेचा सल्यान गाउँपालिका सोलुखुम्बुका प्रमुख डुप कुमार बास्तोला लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा स्थानीय तहका प्रमुखहरुले यातायात व्यबस्था कार्यालय स्थापनाका लागि महत्वपूर्ण सहयोग गरेकोमा मुख्यमन्त्री तथा राज्यमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मुख्यमन्त्री सहभागी भएको कार्यक्रममा जिल्ला समन्वय समिती ओखलढुङ्गाका उपप्रमुख सगै ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ जिल्लाका स्थानीय तहका उपप्रमुखहरुको समेत सहभागी भएपनि महिला प्रतिनिधीहरुलाई मञ्चको प्रयोग गर्न नदिएकोमा असन्तुष्टि जनाएका थिए ।