नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा लगाए ७८० ले कोरोना विरुद्धको खोप

ओखलढुङ्गान्युज, फागुन ७, २०७७ । ओखलढुङ्गा । विहिबार सम्म ओखलढुङ्गामा १० जना पत्रकार सहित ७ सय  ८० जनाले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाएका छन् । पहिलो चरणको कोरोना खोप लगाउनेहरुमा नागरिकहरुसँग सहकार्यका लागि अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेवीका, जनप्रतिनिधी, कर्मचारी तथा सुरक्षाकर्मीहरु रहेका छन् ।

कोरोना खोप लगाउनेहरु मध्ये संख्यात्मक तुलनामा पुरुष भन्दा महिलाको संख्या बढि रहेको छ । जसमा महिला ५८९ जना र पुरुष १९१ जनाले कोरोनाको खोप लगाएका हुन् । जिल्लामा कोरोना विरुद्धको खोप लगाउनका लागि राम्रै प्रचार प्रसार गरिएको भएपनि अपेक्षाकृत रुपमा कोरोनाको खोप लगाउनहरुको संख्यामा कमी रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आफुहरुले अपेक्षा गरे अनुसारको ओखलढुङ्गामा कोरोना कोरोना विरुद्धको खोप लगाउनका लागि सरोकारवालाहरु नआएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले वताउनुभयो । स्वास्थ्य प्रमुख तिवारीले भन्नुभयो, ‘कोरोना विरुद्धको खोप लगाउन सुरुवात गरेको झण्डै १ महिना हुन लाग्दा समेत खोप लगाउनेको मात्रामा उल्लेख्य सहभागीता हुन सकेन, सायद उहाँहरु डराउनुभयो ।’

तिवारीका अनुसार विहिवारवाट कोरोनाको खोप लगाउन बन्द गरिएको छ । शुक्रवारवाट अब ६० वर्ष माथिकालाई मात्र कोरोना विरुद्धको खोप लगाईने छ । छुटेकाहरुको सन्दर्भमा अव स्वास्थ्य मन्त्रालयले निर्णय भएर आएपछि मात्र प्रकृयाको थालनी हुन्छ । जनप्रतिनिधी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रभागमा खटिनेका लागि लगाईने खोप शुक्रबारवाट बन्द गरिएको छ । 

ओखलढुङ्गामा कोरोना विरुद्धको खोप लगाएकाहरु मध्ये केहीलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, शरिरका अंगअंगहरु दुख्ने जस्ता केही रियाक्सन देखिएको छ । तर अधिकांसलाई खोपले खासै रियाक्सन देखाएको छैन । खोप लगाएपछि शरिरको क्षमता अनुसार शारीरिक रियाक्सन देखाउने भएकोले ढुक्क भएर कोरोना विरुद्धको खोपमा सहभागी हुन जिल्ला स्वास्थ्य प्रमुख तिवारीले सबैलाई आग्रह गर्नुभयो ।