नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

भूमि आयोगको ओखलढुङ्गा जिल्ला अध्यक्षमा कटवाल, विज्ञ र सदस्य पनि तोकियो

ओखलढुङ्गान्युज, माघ २०, २०७७ । ओखलढुङ्गा । जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । नेपाल सरकारले ओखलढुङ्गा सहित देशका ७७ ओटै जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो ।

नेपाल सरकारले ७७ ओटै जिल्लामा झै ओखलढुङ्गाका अध्यक्षमा शंकर कटवाललाई तोकेको छ । अध्यक्ष बनेका कटवाल सिद्धिचरण नगरपालिका वडा नं. २ निशंखे भञ्ज्याङ्गका स्थायी वासिन्दा हुन् । त्यस्तै आयोगको ओखलढुङ्गा जिल्ला बिज्ञमा खिजिदेम्बा गाउँपालिकाका विजय बस्नेत र सदस्यमा लिखु गाउँपालिकाका रामकुमार आछामी नियुक्त भएका छन् । नियुक्ति भएका तिनैजना नेकपा ओली समुह निकटका हुन ।

सरकारले ओखलढुङ्गासंगै ७७ जिल्लामा १ जना जिल्ला अध्यक्ष र २ सदस्यगरी २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी नियुक्त गरेको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीको सपथग्रहण माघ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गराउने तयारी गरिएको छ ।

पद्मा अर्याल तत्कालीन भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्धितिय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने छन् ।