नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओली समूह अनेरास्ववियूको जिल्ला अध्यक्षमा जिवन कटवाल

ओखलढुंगान्युज, पुष २३, २०७७ । ओखलढुंगा । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा ओखलढुंगाको भातृ संगठन अनेरास्ववियूको ओखलढुंगा जिल्ला अध्यक्षमा जिवन कटवालले जिम्मेवारी पाएका छन् । पार्टीको आन्तरिक विवादले चरमोत्कर्षको रुप लिदै गर्दा ओली समूहले पार्टीको भातृ संगठनको विस्तार गर्ने क्रममा अध्यक्षमा कटवाललाई जिम्मेवारी दिएको हो ।

पुष १९ गते ओली समूहले जिल्लामा शक्ति प्रदर्शन गरेसँगै बनेको जिल्ला कमिटी र त्यसको बैठकले भातृ संगठन अनेरास्ववियूको ७५ सदस्यिय नयाँ जिल्ला कमिटिको गठन गरेको हो । नयाँ जिल्ला कमिटि गठन गरेसँगै जिम्मेवारी पाउनेमा उपाध्यक्षमा सुजन तामाङ, सचिवमा अर्जुन गिरी, सहसचिवमा काँशिराज धमला, रमिला नेपाल, सन्जित तामाङ र कोषाध्यक्षमा ओर्बिल तिम्सिना रहेका छन् । जम्बो जिल्ला कमिटि बनेपनि ७५ जना सबै जिल्ला कमिटिका सदस्यहरुको नाम भने उल्लेख गरिएको छैन ।

पूर्व एमाले र पूर्व एकिकृत माओवादीको एकता पछि बनेको नेकपाको विद्यार्थी संगठनको नेतृत्वमा रहेका नेताहरु पार्टी दुई समूहमा विभाजित भएसँगै अहिले केही ओली समूहकै विद्यार्थी केन्द्रीय सदस्य समेत बनेका छन् । एकता पछि बनेको अनेरास्ववियूको केही विद्यार्थी नेताहरु प्रचण्ड माधव समुहमा लागेपछि ओली समूहमा रहेका विद्यार्थीहरुको जिल्ला भेलाले नयाँ नेतृत्व सहितको जिल्ला कमिटी गठन गरेको जनाईएको छ ।

नेकपा दुई समूहमा वाडिएसँगै हाल ओखलढुंगा जिल्लामा नेकपाको भातृ संगठन युवासंघ नेपालको बहुमत नेताहरु प्रचण्ड माधव समूहमा रहेका छन् भने विद्यार्थी भातृ संगठन अनेरास्ववियूका बहुमत नेताहरु ओली समूहमा रहेका छन् ।