नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

बस्नेत बने ओखलढुङ्गाको ओली समूहको अध्यक्ष

ओखलढुङ्गान्युज, पुष २०, २०७७ ओखलढुङ्गा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खेमाको नेकपा ओखलढुङ्गाको अध्यक्षमा केदारबाबु बस्नेत चयन भएका छन् । नेकपा दुई खेमामा बाडिएसँगै जिल्लाको अध्यक्षको दाबेदार प्रस्तुत गरिरहेका सिताराम गुरुङलाई पाखा लाउदै बस्नेतलाई अध्यक्ष बनाईएको हो ।

नेकपा ओली खेमाको सचिवमा भने चम्पादेवी गाउँपालिकाका तिर्थ सुवेदीलाई चयन गरेको छ । अध्यक्ष र सचिव बाहेक अरुमा छलफल भैरहेको केन्द्रिय सदस्य मोहन कुमार श्रेष्ठले बताउनुभयो । नेकपा ओली र प्रचण्ड–माधव गरि दुई खेमामा विभाजन भएपछि प्रदेश कमिटिमा पनि  ओखलढुङ्गाबाट ५ जनालाई सिफारिस गर्ने समेत निर्णय भएको श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला कमिटी भने २५१ बनाउने गरि छलफल भै रहेको एक नेताले बताए । जिल्ला कमिटि जम्बो बनाउने भनिएपनि नाम चयनको बारेमा भने निर्णय भैनसकेको ती नेताले बताए । उनको अनुसार जिल्लाको पदाधिकारी बन्ने विषयमा लामो बहस हुदा पदाधिकारीमा नअटाएकालाई प्रदेश कमिटिमा सिफारिस गर्ने छलफलवाट निष्कर्ष निकालिएको छ ।

सदरमुकाममा प्रधानमन्त्रीको समर्थनमा शक्ति प्रदर्शन गरेको नेकपाले जिल्लाका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने तयारी छ । जस अनुसार माघ ४ गते सुनकोसी, ५ गते चम्पादेवी, ६ गते लिखु, ७ गते खिजिदेम्बामा अगुवा कार्यकर्ता भेला गर्ने मिति तय गरेको छ । त्यस्तै १८ गते सिद्धिचरण नगरपालिका, १४ गते चिशंखुगढी गाउँपालिकाका लागि मिति तय गरिएको छ । मानेभञ्ज्याङ र मोलुङको कार्यकर्ता भेलाको बारेमा भने यो समाचार तयार पार्दै गर्दा छलफल भैरहेको छ ।