नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रदेश १ का तिन जिल्लाबाट सडकका २५३ जनाको उद्धार

ओखलढुङ्गान्युज, पुष ११, २०७७ विराटनगर प्रदेश नं. १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । गत पुष ७ देखि सुरु भएको अभियान अन्तर्गत शुक्रबार सम्म तीनओटा जिल्लाबाट २ सय ५३ जना नागरिकको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मानव सेवा आश्रमले  पुस ७ गतेदेखि शुरु गरेको मेची–महाकाली अभियान अन्र्तगत पुष ११ सम्म उक्त संख्यामा नागरिकको उद्धार गरिएको शनिवार विराटनगरमा आयोजित एक कार्यक्रममा जानकारी गराईएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापा, मोरङ र सुनसरीमा सहयोगापेक्षी सडक आश्रित मानवहरु अव सडकमा नदेखिने बताउनुभयो । सडक मानवको उद्धारकार्य जटिल भएको भन्दै प्रदेश सरकारले आगामी बैशाख भित्रमा सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिसक्ने बताउनुभयो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मेचीबाट शुरु भएको अभियान महाकालीमा माघ ७ गते सम्पन्न हुने बताउनुभयो । उहाँले आगामी २०८२ भित्रमा नेपाललाई शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात विताउन विवश घरबार विहिन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गरिने बताउनुभयो ।

मानव सेवा आश्रमले  पुस ७ गतेदेखि शुरु भएको मेची–महाकाली अभियान अन्र्तगत झापाबाट ७६, सुनसरीबाट १११ र मोरंगबाट ६६ जनाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालय, सामाजिक महाशाखाले जनाएको छ । उद्धार गरिएका मध्ये १९ जना बालबालिका र १ जना अपाङ्गता भएका व्यक्ति छन् ।

उद्धार गरिएका मध्ये ९ जना बालबालिकालाई काठमाण्डौं पठाईएको र बाँकीलाई इटहरीमा राखिएको छ । उद्धार गरिएकाहरुमा ५ देखि ८० बर्ष उमेर समूहका रहेको प्रदेश नं. १ को मानव सेवा आश्रमले जनाएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार कार्यक्रम सञ्चालन गरिएको हो ।