नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

बैधानिकता दावी गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा

ओखलढुङ्गान्युज, पुष , २०७७ काठमाण्डौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आफुहरु बैधानिक नेकपा रहेको भन्दै निर्वाचन आयोगमा पुगेका छन् । प्रचण्ड–नेपाल समूहले आफूहरु बैधानिक रहेको दावीका साथ मंगलबारको केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ । 

दाहाल–नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । बुधबार दाहाल–नेपाल समूहका केन्द्रीय कमिटीका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बैठकका निर्णयहरु आयोगमा बुझाईएको हो ।

तत्कालिन नेकपा एमाले र एकीकृत माओवादीबीचको एकतापछि कायम भएको ४ सय ४१ केन्द्रीय कमिटी र पछि थप भएका ४ जना सहित ४ सय ४५ जना नै केन्द्रीय सदस्यहरुको अन्तिम नामावली भएको दाहाल–नेपाल समूहले दाबी गरेको छ । एकता पश्चात नेकपाको केन्द्रिय सदस्य ४ सय ४५ मध्ये ३ जनाको मृत्यु भएको, ५ जना विभिन्न संवैधानिक निकायमा नियुक्ती पाएको छन् ।

त्यस्तै ३ जना राजदूत भएर गएपछि कायम भएको ४ सय ३४ केन्द्रीय सदस्य मध्येको बहुमत सदस्यहरुको निर्णय नै अन्तिम हुने दाहाल–नेपाल समूहले बताएको छ । निर्वाचन आयोगमा  २ सय ९० जनाको हस्ताक्षर समेत उपलब्ध गराईएको छ । आफुहरुसँग ७० प्रतिशत केन्द्रिय समितिका सदस्यहरु रहेको दाहाल–नेपाल पक्षको दावी छ ।

अध्यक्ष ओली समूहले पनि मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह नै आधिकारीक भएको दावी गरेको थियो । अध्यक्ष ओली पक्षको केन्द्रीय सदस्यहरुको बैठकले केन्द्रीय कमिटीमा ५ सय ५६ जना सदस्यहरु थप गरेको थियो । उक्त निर्णय ओली पक्षले मंगलबार नै आयोगलाई बुझाइसकेको छ ।