नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

जिवित देवी देवताको छनौट प्रतिष्पर्धावाट

ओखलढुङ्गान्युज, पुष ,२०७७ काठमाण्डौं जीवित देवताका रुपमा उपत्यकाको महत्वपूर्ण सांस्कृतिक विरासत मानिँदै आएको दुई देवताको छनौट प्रतिष्पर्धावाट गरिएको छ ।  गणेश र भैरव देवतालाई काठमाडौंका स्थानीयले शुक्रबार र शनिबार दुई दिन लगाएर प्रतिस्पर्धाका आधारमा प्रतिस्थापन गरेका हुन् ।

जीवित देवी कुमारीको जति चर्चा हुने गरेको छ, उनको र राज्यको समेत रक्षक मानिने भैरव र गणेश देवताको भने अलि कम चर्चा हुँदै आएको छ । यिनै जीवित देवतामध्ये गणेश र भैरवको चयन प्रक्रिया शनिबार पूरा भएको हो ।

शाक्य विहार संघका महासचिव संघरत्न शाक्यका अनुसार गणेश र भैरव बन्नका लागि १८ महाविहारअन्तर्गतको शाक्य कुलकै बच्चा हुनुपर्छ । बाबुपट्टिका तीन पुस्ता र आमा पनि काठमाडौंकै स्थानीय हुनुपर्छ । शरीरमा कुनै पनि घाउचोट नलागेको हुनुपर्छ ।

यी शर्तहरु पूरा हुने बच्चाहरुमध्ये एकजनालाई भैरव र अर्का एकजनालाई गणेशका रुपमा चयन गर्ने गरिन्छ । जसरी कुमारीलाई रजश्वला हुनुभन्दाअघि नै बिदाइ गरिन्छ, त्यसरी नै गणेश र भैरवको चूडाकर्म हुनुअघि उनीहरुबाट देवताको आभूषण र बस्त्र प्रतिस्थापन गरी नयाँ चयन भएका देवतालाई पहिर्याइन्छ ।

शाक्य महाविहार संघका अनुसार यसपटक सबै महाविहार मार्फत् गणेश र भैरवका लागि योग्य शाक्यपुत्रको आवेदन माग गरिएको थियो । यसपटक झण्डै एक वर्षको प्रक्रिया पूरा गरेर नयाँ गणेश र भैरवको चयन गरिएको हो । गणेश र भैरव बन्नका लागि १२ जनाको आवेदन परेको थियो । त्यसमध्येबाट भैरवका लागि २ जना र गणेशका लागि २ जनाको नाम शाक्य महाविहार संघले नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई पठाएको थियो ।

संघका अनुसार ती बच्चाहरुको चिना पञ्चाङ्ग निर्णायक समितिले विश्लेषण गरेर नयाँ भैरव र गणेश चयन गरेको हो । समितिले विश्लेषणका क्रममा ग्रहहरुको स्थिति, बच्चाको जन्मयोग आदिलाई आधार मान्ने गर्छ । चिनामा राज्यसँग बाझिने कुनै योग नभएको र धेरैभन्दा धेरै गुण भएकामध्ये एक जनालाई भगवानको रुपमा चयन गर्ने गरी अहिले नयाँ नियम बनेको छ ।

केही अन्योलका बीच भैरवको बस्त्र आभूषण एवं आसन प्रतिस्थापनका लागि शनिबारको समय तोकिएको थियो । शनिबार विवाह पञ्चमीसमेत रहेको र भैरवको प्रतिस्थापन पनि पञ्चमीकै दिन गर्नुपर्ने भएकाले यस दिन साइत जुराउनुपर्ने आवश्यकता थिएन । सोहीअनुरुप शुक्रबार चौथीको दिन नियमानुसार श्री गणेशलाई परिवर्तन गरिएको हो ।