नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

विद्यार्थीलाई सरकारले निःशुल्क सिम बाड्दै

ओखलढुङ्गान्युज, पुष ४, २०७७ । काठमाण्डौं । शैक्षिक सत्र २०७७ सकिन तिन महिना मात्रै बाकि रहेको छ ।  शैक्षिक सत्र सकिन करिब ३ महिना मात्रै बाँकी हुँदा सरकारले वैकल्पिक सिकाइसँग जोड्नका लागि भन्दै सरकारले विद्यार्थीलाई नेपाल टेलिकमको सिम बाड्न लागेको छ । सरकारले देशभरका ३९ लाख विद्यार्थीलाई प्याकेजसहितको निःशुल्क सिम दिन सुरु गरेको छ ।

सरकारले निशुल्क उपलब्ध गराउन लागेको सिम सामुदायीक विद्यालयका लागि मात्रै लागू हुनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्धेश्यका साथ निःशुल्क सिमसहित सरकारले कक्षा सञ्चालन गर्न लागेको हो । गत असोज १ देखि अहिलेसम्म २५ वटा विद्यालयका विद्यार्थीले सिम पाएको शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ ।

नेपाल सरकारले विद्यालय सञ्चार सञ्जालीकरण कार्यविधि – २०७७ स्वीकृत गरिसकेको छ । त्यही कार्यविधि अनुसार सबै विद्यार्थीले प्याकेज सहितको ‘क्लोज युजर ग्रुप’ (सीयूजी) सिम पाउनेछन् । वैकल्पिक सिकाइका लागि एउटा परिवारमा रहेका एक जना विद्यार्थीले मात्रै सिम लिन पाउनेछन् ।

देशभर कक्षा १ देखि १० सम्म पढ्ने विद्यार्थीको संख्या ७२ लाखभन्दा बढी छ । तर इन्टरनेटको पहुँच भएका जिल्लाका विद्यार्थी, बालविकास समूहका र कक्षा ११ र १२ का विद्यार्थीबाहेकका करिब ३९ लाख विद्यार्थीले यो सुविधा पाउने शिक्षा विकास तथा मानव स्रोत केन्द्रले जनाएको छ ।

सियूजी लागू भएका विद्यालयको सिफारिसमा अभिभावकले टेलिकमबाट सिम निकाल्नुपर्नेछ । सिकाइ अवधिभर सिम प्रयोगमा लागेको रकम नेपाल टेलिकमलाई  गाउँपालिकाले भुक्तानी गर्नेछ । सिम पाएपछि विद्यार्थीले शिक्षकसँग जोडिएर निःशुल्क डाटा प्रयोग गरेर पढ्नुपर्ने प्राबधान रहेको छ ।

सरकारले उपलब्ध गराउने निःशुल्क सिम र डाटा लिएपछि केन्द्रको एप्स र डाटा पोर्टलसँग जोडिनुपर्नेछ । विद्यालयमा क्लोज यूजर्स ग्रुप बनाउनुपर्नेछ र तोकिएको समयमा पढ्नुपर्ने हुन्छ । यो निशुल्क सिम ईन्टरनेट चल्ने स्थानका स्थानीय तहका विद्यालयहरुमा लागू हुनेछ । ईन्टरनेटको पहुँच नपुगको स्थानीय तहको विद्यालयका बारेमा भने सरकारले केही बोलेको छैन ।