नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

जिल्ला समन्वयको औपचारिक कार्यक्रम वहिष्कार गर्ने चिशंखुगढीको निर्णय

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा केहि समय अगाडी बसेको चिशंखुगढी गाउँपालिकाको बैठकले जिल्ला समन्वय समितिले आयोजना गर्ने कुनैपनि औपचारिक कार्यक्रम तथा बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । जिल्ला समन्वय समितिले आफुहरुलाई झुक्याएको भन्दै आगामी दिनमा जिल्ला समन्वय समितिले आयोजना गर्ने कुनैपनि औपचारिक कार्यक्रममा उपस्थित नहुने गाउँपालिकाले निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिमा रहेको मौज्दात कोषको रकम गाउँपालिकालाई अनुदानको रुपमा प्रदान गर्ने र गाउँपालिकाले विकास निर्माणका कार्यक्रम सञ्चालन गर्ने जिल्ला सभाले निर्णय गरेको थियो । सभाको निर्णय अनुसार चिशंखुगढी गाउँपालिकाले गाउँपालिकाको सातौ गाउँसभावाट समेत अनुमोदन गरि सञ्चालन गर्ने योजनाको लिष्ट जिल्ला समन्वयमा उपलब्ध गराएको थियो ।

जिल्ला समन्वयको अनुदानमा सञ्चालन हुने योजना छनौट गरि गाउँसभाले अनुमोदन समेत गरेर पठाईसकेको अवस्थामा विभिन्न बहानामा जिल्ला समन्वयले गाउँपालिकाले बजेट उपलब्ध नगराई झुक्याएकोले आफुहरुले बाध्य भएर उक्त निर्णय गर्नुपरेको चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष शर्माका अनुसार जिल्ला सभाले पारित गरेको निर्णय अनुसार नै विनियोजन भएको बजेट निकासको कार्य अगाडी नबढाए सम्म जिल्ला समन्वय समितीले आयोजना गर्ने कुनैपनि औपचारिक बैठक तथा कार्यक्रममा चिशंखुगढी गाउँपालिका सहभागी हुनेछैन । शर्माले भन्नुभयो, ‘जिल्ला सभाको निर्णय अनुसार चिशंखुगढीलाई रु २५ लाख उपलब्ध गराउने निर्णय भएको थियो । गाउँपालिकाले सोही अनुसार योजना छनौट गरि गाउँपालिकाको सभाले समेत अनुमोदन गराई जिल्ला समन्वयमा पेश गरेको थियो । तर हालसम्म बजेट निकासाको लागि काम अगाडी बढेन । त्यसैले गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।’