नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

रुघाखोकी र उच्च ज्वरोका कारण विद्यार्थी विरामी भएपछि बरुणेश्वर मावि बन्द

ओखलढुङ्गान्युज, पुष , २०७७ ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. २ मा रहेको बरुणेश्वर उच्च मावि रामपुरले विहिबार र शुक्रबारका लागि विद्यालय वन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुमा उच्च ज्वरो सँगै रुघाखोकीको समेत समस्या देखिएपछि विद्यालय वन्द गरिएको विद्यालयले जनाएको छ ।

विद्यायलमा नियमित अध्यापनको क्रममा गत २९ गते देखी केही विद्यार्थीहरुमा सामान्य रुघाखोकीको समस्या देखिएको थियो । बुधबार पुष १ गते भने कक्षा ६ र ७ का थप केही विद्यार्थीहरुमा समस्या देखिएपछि गाउँपालिकासँगको समन्वयमा विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा विद्यार्थीहरुमा समस्या देखिएपछि विद्यालयले जानकारी गराएको र समस्याग्रस्त विद्यार्थीहरुलाई होम आइशोलेनमा रहने गरि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गासँगको समन्वयमा दुईदिन विद्यालय बन्द गर्न निर्देशन दिईएको गाउँपालिकाका अध्यक्ष मणीराज राईले बताउनुभयो । गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, ‘२०÷२० जना विद्यार्थीमा स्वास्थ्य समस्या भएको जानकारी आयो । चिसोको समयमा भाईरल रुघाखोकी, ज्वरोको समस्या हुन्छ नै । यो सरुवारोग पनि हो । त्यसैले यो समयमा थप विद्यार्थीमा समस्या नहोस भनेर विद्यालय वन्द गर्ने निर्णय गरिएको हो । आईतवार सम्म अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने थप निर्णय हुन्छ ।’

विद्यालयमा अध्यापन गराउने शिक्षकमा कोरोना पोजटिभ देखिएको भन्ने हल्ला भने निराधार रहेको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद खतिवडाले जानकारी दिनुभयो । विद्यालयमा अध्यापन गराउदै आउनुभएका स्थानीय एक शिक्षकमा उच्च ज्वरो, रुघाखोकी लगायतका केही स्वास्थ्य समस्या देखिएपछि गत मंशिर २६ गतेवाट नै उहाँ घरमा आराम गरिरहनु भएको प्रधानाध्यापक खतिवडाले बताउनुभयो । विरामी शिक्षकमा कोरोना संक्रमण पनि हुन सक्ने आशंकामा उहाँ तथा उहाँको परिवारलाई होम आईशोलेशनमा रहन अनुरोध गरिएको भएपनि कोरोना परीक्षण हालसम्म नगरिएको र कोरोना पोजेटिभ भएको भन्ने हल्ला पनि निराधार रहेको खतिवडाले बताउनुभयो ।

मंशिरको तेश्रो हप्ता आफ्नै परिवार भित्रको वैवाहिक कार्यक्रममा सरिक भएका शिक्षक विद्यालयलमा अध्यापन गराउने क्रममा नै विरामी भएका थिए । नियमित दुईदिन विद्यालयमा अध्यापन गराएका शिक्षकले आफुमा रुघाखोकीको समस्यासँगै ज्वरोको लक्षण आएको भन्दै शारीरिक अस्वस्थता महशुस गरेको शिक्षक स्टाफसँग बताएका थिए । शिक्षकले त्यस्तो बताउनासाथ विद्यालयका प्रधानाध्यापक खतिवडाले उहाँलाई होम आईशोलेशनमा रहि आराम गर्न भन्दै घर पठाएको बताईएको छ ।

मोलुङ गाउँपालिकामा गत मंशिर १७ गते देखि नै सबै सामुदायीक विद्यालयहरु सञ्चालनमा रहेका छन् । सेनिटाईजर र मास्कको प्रयोग गर्दै पूर्ण रुपमा स्वास्थ्य मापदण्ड सहित विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय अनुसार विद्यालय सञ्चालनमा छन् । तर गाउँपालिकाको निर्देशन अनुसार विद्यालय सञ्चालन गर्नलाई स्वास्थ्य सामाग्रीको अभावका कारण समस्या भैरहेको विद्यालयहरुले जनाएका छन् ।