नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

सडक आश्रित बालबालिकाको पुर्नस्थापना उच्च प्राथमिकतामा ः मन्त्री घिमिरे

ओखलढुङ्गान्युज, पुष , २०७७ विराटनगर प्रदेश १ मा रहेका सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भएको छ । सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर्नस्थापनामा सरोकारवालाको भूमिका विषयक अन्र्तसंवाद कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो ।

प्रदेश सरकारले सडकमा रहेका सवै बालबालिकालाई उद्धार गर्ने योजना बनाएको मन्त्री घिमिरेले बताउनुभयो । सडक आश्रित बालबालिका मुक्त सडक बनाउने योजनाका साथ काम भईरहेको मन्त्री घिमिरेको भनाई छ । मन्त्री घिमिरेका अनुसार सडकमा आश्रित बालबालिका धेरै भएका जिल्लाहरुमा केन्द्रित गरेर काम शुरु गरिने छ । उद्धार गरिएका बालबालिकालाई मानव सेवा आश्रमसँगको सहकार्यमा विराटनगर र इटहरीमा निर्माण गरिएको आश्रम स्थलमा राख्ने गरिएको छ ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले प्रदेश १ लाई चाँडै सडक आश्रित सहयोगापेक्षी मुक्त घोषणा गरिने बताउनुभयो । १३७ वटै स्थानीय तहमा हिंसा निवारण कोष स्थापना गरि १ करोड ३७ लाख बजेट पठाईसकिएको राज्यमन्त्री गजमेरले बताउनुभयो । कार्यक्रममा उपस्थित स्थानीय तहका उपप्रमुखहरुले एकल महिलालाई स्वरोजगारका लागि वीउ पूँजीको व्यवस्थाको साथै बाल विवाह र हिंसा अन्त्यका लागि विभिन्न चेतनामुलक कार्यक्रम  गरिएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहका उपप्रमुखहरु, दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति अध्यक्ष खड्गवहादुर वस्नेत, इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, मानवअधिकार आयोग प्रदेश १ निमित्त प्रमुख गीता दाहाल, कोकनका अध्यक्ष मञ्जिता उपाध्याय लगायतले सम्बोधन गर्नुभएको थियो ।