नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

राष्ट्रिय परिचयपत्र वितरणको लागि मोलुङमा अभिमुखिकरण कार्यक्रम

ओखलढुङ्गान्युज, पुष १, २०७७ । प्राप्चा । मोलुङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको आयोजनामा बुधबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । 

अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय परिचयपत्र भनेको के हो र यसलाई गाउँपालिकाका प्रत्येक वडामा कसरी संकलन गर्ने भन्ने बारेमा अभिमुखिकरण कार्यक्रममा जानकारी गराईएको मोलुङ गाउँपालिकाका सूचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा सहभागी वडा अध्यक्षहरुले आफ्ना वडाका कोही पनि नागरिकहरुलाई नछुट्नेगरि, बृद्ध र अपाङ्गहरुलाई समेत घरघरमा नै सेवा मार्फत दर्ता अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्लाको मोलुङ, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिका बाहेक अरु तीनओटा गाउँपालिकामा दर्ता अभियान सम्पन्न भैसकेको छ भने हाल चम्पादेवी र सुनकोशी गाउँपालिकामा दर्ता अभियान कार्यक्रम सञ्चालन भैरहेको छ । अभिमुखीकरण कार्यक्रम पश्चात मोलुङ गाउँपालिकामा पुष महिनाको १२ गते देखी राष्ट्रिय परिचय पत्र बितरणको लागि दर्ता अभियान सञ्चालन हुनेछ । आवश्यकताको आधारमा गाउँपालिकाका वडाहरुमा दुईओटासम्म दर्ता स्टेशन सञ्चालन गरिने पनि जिल्ला प्रशसन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रममा मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राई, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, उपाध्यक्ष हेम कुमारी तामाङ, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक रुपेश खड्का , शशस्त्र प्रहरी बल गुल्म ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक लाल बहादुर कार्की, मोलुङ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष गौतम, वडा अध्यक्ष जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।