नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

अनुगमलाई निरन्तरता दिन्छौ ः उपप्रमुख गुरुङ

ओखलढुङ्गान्युज, मंशिर ३०, २०७७ ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले नगरपालिका क्षेत्रको बजार अनुगमनलाई निरन्तरता दिने बताउनुभएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल ओखलढुङ्गाले मंगलबार आयोजना गरेको व्यापारी तथा सरोकारवालाहरुसँगको छलफलमा यस्तो बताउनुभएको हो ।

छलफल कार्यक्रममा सहभागीहरुले स्थानीय तहमा रहेका बजार तथा व्यबसायहरुको नियमित अनुगमनको पाटो स्थानीय सरकारको भएपनि अुगमनको पक्ष कमजोर रहेको बताएका थिए । सहभागीहरुले यस्तो गुनासो गरेपछि उपप्रमुख गुरुङले जिल्ला प्रशासन कार्यलय तथा घरेलुसँगको सहकार्यमा आगामी दिनमा नियमित अनुगमन हुने बताउनुभएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बजार अनुगमनको पक्ष स्थानीय तहलाई जिम्मेवारी भएपनि आवश्यकताका आधारमा जिल्ला प्रशासनले समेत अनुगमन गर्ने बताउनुभयो । व्यापारी व्यबसायीहरुले नाफा कमाउने उद्धेश्य मात्र भन्दा पनि नागरिक प्रतिको दायीत्व पनि बोध गर्नुपर्नेमा जोड दिनुभयो । व्यापार प्रतिष्पर्धाको हुनेभएपनि सबै व्यापारीहरुले मूल्य सूचि भने अनिवार्य राख्नुपर्ने भट्टराईको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुले खाद्य वस्तुको अनुगमनलाई आगामी दिनमा सदरमुकाम मात्र भन्दा पनि स्थानीय तहहरुमा रहेका बजारमा समेत सञ्चालन गर्नुपर्ने बताएका थिए । सहभागी व्यापारीले सदरमुकाम क्षेत्रमा केही पसलहरु बाहेक डिलर मार्फत नै कारोवार हुने भएकोले म्याद गुज्रिएका सामान हुने सम्भावना कम रहने बताएका थिए । तर घुम्ती व्यापार गर्ने व्यापारीले गाउँगाउँमा गएर कम मिति भएका र म्याद गुज्रीन लागेका सामाग्री सस्तोमा दिएर जाने भएकोले अरु व्यापारीको समेत बदनाम हुने गरेको भन्दै स्थानीय तहहरुमा रहेको पसलहरुको समेत अनुगमन गर्नुपर्ने बताएका थिए ।