नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

बुबाको वार्षिकीमा विद्यार्थीलाई छात्रबृत्ति, विद्यालयमा अक्षयकोष

ओखलढुङ्गान्युज, मंशिर २८, २०७७ । मोलुङ । आफ्नो बाबुको वार्षिक पुण्य तिथीको अबसर पारेर ओखलढुङ्गामा नेकपाका एक नेताले विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नुभएको छ । नेकपा स्थायी कमिटिका आमन्त्रित सदस्य पेशल खतिवडाले आफ्नो बुबाको वार्षिक पुण्य तिथीको अबसर पारेर शनिवार ३ जना छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान गर्नुभएको हो ।

करीब चार दशक देखी कम्युनिष्ट आन्दोलनमा होमीनुभएका खतिवडाको बुबा मनोरथ खतिवडाको गत वर्ष मृत्यु भएको थियो । सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि भन्दै कम्युनिष्ट आन्दोलनमा होमिनुभएका खतिवडाले बुबाको मृत्यु हुदा पनि क्रिया बसेनन् । बाबुको मृत्युमा पनि क्रिया नबस्दा समाजमा कतिपयले समाजको मान्यता र परम्परा नमानेको भन्दै आलोचना गरे भने कतिपयले सस्कार रुपान्तरणका लागि सुरुवात गरेको भन्दै उहाँको अभियानको प्रशंसा पनि गरे । आलोचनाका बाबजुद पनि खतिवडा कपडा खोलेर क्रियामा बस्नु भएन । तर उहाँका भाइहरुले भने सामाजिक रिती अनुसार नै क्रियामा पनि बसे । वार्षिक पुण्य तिथी पनि प्रचलित विधि अनुसार नै गरे ।

नेता खतिवडाले बाबुको मृत्यु भएका बेला श्रद्धाञ्जली सभाको आयोजना गरे । त्यसवेला आधारशिला परिवार महोत्तरीले सहयोग गरेको थियो । श्रद्धाञ्जली सभामा नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणी पोख्रेलले सम्बोधन गर्नुभएको थियो । श्रद्धाञ्जली सभा कार्यक्रममा केन्द्र देखी स्थानीय तह सम्मका निर्वाचित जनप्रतिनिधी, नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेसका नेताहरुले पनि सम्बोधन गरेका थिए । सोही कार्यक्रममा नेता खतिवडाले बाबुको क्रिया तथा वार्षिक पुण्यतिथिहरु आफुले पुरानो विधी अनुसार नगर्ने तर उहाँको नाममा प्रत्येक वर्ष विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

नेता खतिवडाले गरेको पूर्व घोषणा अनुसार स्वर्गीय बुबाको पहलमा स्थापना भएको विद्यालयमा रु २ लाखको अक्षयकोष स्थापना गरिदिनुभयो । सोही विद्यालयमा अध्ययन गरि  उत्कृष्ट अंक ल्याउने तिनजना छात्रा–छात्रहरुलाई छात्रवृत्ति प्रदान गर्नुभयो । यो पटक छात्रबृत्ति पाउनेहरुमा उत्कृष्ट विद्यार्थी सुन्दर तामाङ, दलित तर्फ पवित्रा कालिकोटे र छात्रातर्फ दिपा खतिवडा रहेका छन् । तिनैजनालाई जनही ३ हजारका दरले छात्रबृत्ति वापतको रकम उपलब्ध गराईएको छ ।

वार्षिक पुण्यतिथीको अबसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा नेता खतिवडाले मृतकको स्मरण र योगदानको चर्चा गर्दै सपना पुरा गर्ने बाटोमा लागे मात्रै अर्थ रहने बताउनुभयो । मृत्यु भएका बेला कपाल काटेर, १३ दिन चिसो पानीले नुहाएर, सेतो कपडा लगाएर मात्रै संस्कार रुपान्तरण नहुने भएकोले संस्कार रुपान्तरणको अभियान आफैंले शुरु गरेको बताउनुभयो ।

समाजसेवी स्वर्गीय खतिवडाको बार्षिक पुन्यतिथिमा मनोरथ खतिवडा स्मृति कोष र आधारशीला परिवार महोत्तरीले शनिवार श्रदाञ्जली सभाको आयोजना गर्दै छात्रवृति वितरण गरेको हो । कार्यक्रममा नेता खतिवडासहित मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, नेकपा मोलुङका अध्यक्ष हरिकुमार राई, नेताहरु नरेन्द्र खतिवडा, कुलबहादुर खत्री, बरुणेश्वर माविका प्राचार्य कुल प्रसाद खतिवडा लगायतले स्व. मनोरथ खतिवडाको योगदानको चर्चा गरेका थिए ।