नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

खाल्डेलाई सिसाजन्य फोहोर मुक्त वडा घोषणा गर्ने तयारी

ओखलढुङ्गान्युज, मंशिर २७, २०७७ यसम लिखु गाउँपालिकाको वडा नं. ६ मा प्लाष्टिक जन्य फोहोर तथा सिसाजन्य फोहोरको व्यबस्थापनको काम सुरुवात गरिएको छ । फोहोर व्यबस्थापनको क्रममा वडा नं. ६ खाल्डेको व्यबस्थापन तथा स्थानीय युवा क्लव र आमा समूहको सकृयतामा फोहोर व्यबस्थापनको काम सुरुवात गरिएको हो ।

वडा नं. ६ खाल्डेमा रहेको जनजागर युवा क्लव र रमाईलो मगरवस्ती आमा समूह खाल्डेको संयुक्त आयोजनामा शुक्रवार वडाका विभिन्न स्थानमा सरसफाई अभियान समेत सञ्चालन गरेको छ । अभियान अन्तर्गत पहिलो चरणमा वडाका विभिन्न स्थानमा रहेको प्लाष्टिक जन्य फोहोर तथा सिसाजन्य फोहोरलाई कलेक्सन गरि विसर्जन तथा व्यबस्थित गरिएको वडा नं. ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले जानकारी दिनुभयो ।

वडाको फोहोर व्यबस्थापनका लागि अहिले संयुक्त रुपमा बासका टोकरीहरु निर्माण गरि राखिएको र प्लाष्टिक जन्य फोहोरहरुलाई त्यहाँ ब्यवस्थापनका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष मगरको भनाई छ । वडालाई खुला फोहोर बन्नवाट मुक्त गराउन सिसाजन्य फोहोर उत्पादन गर्ने होटल तथा पसलहरु आफैलाई ति फोहोर व्यबस्थापनको काम गराउने गरि वडाले समेत निर्णय गरि कार्यान्वयन गराउने तयारी गरिएको वडा अध्यक्ष मगरको भनाई छ ।

पछिल्ला दिनहरुमा गाउँगाउँमा होटल तथा पसलहरुवाट निस्किने प्लाष्टिक तथा सिसाजन्य फोहोरहरुले गाउमा प्रदुषण उच्च गतिमा बढाएको छ । जताततै हुने सिसाजन्य फोहोरका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । होटल तथा पसलहरुवाट निस्कने सिसालाई व्यबस्थापन गर्न व्यबसायीहरुलाई नै लगाए केही मात्रामा भएपनि प्रदुषण कमगर्न सकिने सरोकारवालाहरुको भनाई छ ।