नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा नेपाललाई तिन स्वर्ण सहित चार पदक

ओखलढुङ्गान्युज, मंशिर  २०७७ । काठमाण्डौं । वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा नेपालले चार पदक हात पारेको छ । केहिदिन अगाडी सम्पन्न पुरुष तथा महिला–२०२० वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको हो ।

भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म सञ्चालन भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।

त्यसैगरि सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल हुनुभएको एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी भएका थिए । सहभागी पाँच खेलाडीमा चार जना पोखराका र एक जना महिला सुर्खेतको हुनुहुन्छ ।

प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेको थियो । कोरोना कहरका कारण लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो । एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रतियोगिता वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा सम्पन्न भएको हो ।