नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

भ्रष्टाचार न्यूनिकरणका लागि आफैवाट सुरुवात गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

ओखलढुङ्गान्युज, मंशिर २४, २०७७ ओखलढुङ्गा भ्रष्टाचारजन्य गतिबिधीको न्यूनिकरणका लागि व्यक्ति स्वयम्ले आफैवाट सुरुवात गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्बर ९, २०२० को अबसर पारेर बुधबार ओखलढुंगामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुले भ्रष्टाचार न्युनिकरणका लागि सबै नागरिक समाजका संस्थाहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका थिए । हरेक कामको पारदर्शीताका लागि पहिलाको समिक्षा गर्दै सुधार गर्नुपर्ने कुनै विषय भएमा सुधार गर्नुपर्ने बताएका थिए । नयाँ योजना निर्माण गरि कार्यान्वयनको चरणमा जादा पुरानो कामको समिक्षालाई आत्मासात गर्दै नयाँ प्रतिबद्धताका साथ काम गरेमा भ्रष्टाचारजन्य गतिबिधी कम हुने सहभागीहरुको भनाई थियो ।

त्यस्तै कतिपय सरकारी गतिबिधी तथा ऐन कानूनमा समेत अनियमिततालाई बढावा दिने शब्दहरु भएकोले त्यसमा सुधारका लागि सरोकारवालाहरुसँग समेत बनेर आवश्यक परिमार्जनका लागि छलफल चलाउनुपर्ने आवश्यकता समेत औल्याएका थिए ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले नगरपालिकामा समेत कुनै भ्रष्टाचारजन्य गतिविधी देखिएमा नागरिक समाज र पत्रकारहरुले खबरदारी गरिदिन आग्रह गर्नुभएको थियो । कतिपय कुराहरु नजानेर पनि भ्रष्टाचारजन्य गतिबिधीमा समाबेश हुन सक्ने भएकोले सुधार गर्न सकिने कुराहरुलाई बेलैमा सुधार गर्नुपर्ने उपप्रमुख गुरुङको भनाई थियो ।

सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठले वर्तमान अवस्थामा समय सापेक्ष नीतिगत व्यबस्था नहुदा भ्रष्टाचारजन्य गतिबिधीले प्रोत्साहन पाएको बताउनुभयो । भ्रष्टाचारजन्य गतिबिधीलाई न्यूनिकरण नै गर्ने हो भने सार्वजनिक खरिद ऐन, दररेट निर्धारण तथा विकासका काममा नागरिकको सहभागीताका विषयमा समेत केही सुधार गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङ, सिद्धिचरण नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठ जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, पत्रकार सहित २० जना भन्दा बढिको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आफु पारदर्शी भई नीतिगत रुपमा हुने भ्रष्टाचारको न्यूनिकरणका लागि जिल्ला पैरवी सञ्जाल मार्फत अभियान सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अबसर पारेर सोच नेपाल ओखलढुंगाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रम कै अवसर पारेर भ्रष्टाचार निवारणमा नागरिक सहभागी विषयक नागरिक हाते पुस्तिकाको समेत सार्वजनिक गरिएको थियो । उक्त हाते पुस्तिका USAID/Fhi360 को सहयोगमा सोच नेपालले तयार पारेको हो । हाते पुस्तिका नगरपालिका उपप्रमुख ईच्छा कुमारी गुरुङले सार्वजनिक गर्नुभएको हो ।